कांग्रेस नेतृत्वलाई निर्वाचन केन्द्रित हुन आग्रह



काठमाडौं ।

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले नजिकिँदै गरेको आम निर्वाचनमा बहुमत ल्याउनका लागि अहिलेदेखि नै रणनीति बनाउनुपर्ने बताएका छन् । १४औं महाधिवेशनपछि एकपटक मात्र केन्द्रीय समिति बैठक बसेको कांग्रेस अलमल नगरी अगाडि बढ्नुपर्ने भन्दै उनीहरूले मूल नेतृत्वलाई निर्वाचन केन्द्रित हुन आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिले पूर्णता पाउन अझै बाँकी छ । १४औं महाधिवेशनले निर्वाचित गरेको १ सय १४ सदस्यीय केन्द्रीय समिति भए पनि कोषाध्यक्ष १ र ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । विधानअनुसार गठन गर्नुपर्ने विभिन्न समितिका साथै विभागहरू बनाइएको छैन । सत्ताको प्रमुख बागडोर सम्हालेको यो पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्था सबै निस्क्रिय छन् ।

‘अब कांग्रेसभित्र सबैको ध्यान नजिकिँदै गरेको तीन तहको निर्वाचनमा केन्द्रित हुनुपर्छ’, केन्द्रीय सदस्य डा. डिला संग्रौला भन्नुहुन्छ– ‘सबैभन्दा पहिले मतदाता नामावली संकलनमा वडा तहसम्म ध्यान पुर्याउनुपर्छ ।’ भ्रातृ एवं शुभेच्छुक संघसंस्थाको महाधिवेशन गरी देशव्यापी परिचालन गर्न ढिलाइ भइसकेको भन्दै केन्द्रीय सदस्य संग्रौला भन्नुहुन्छ– ‘कांग्रेसको भ्रातृ संस्थाको मेरुदण्ड भनिएको नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको राष्ट्रिय अधिवेशन तत्काल गर्नुपर्छ ।’ नेपाली कांग्रेसले सरकारको पनि नेतृत्व गरेकाले आम जनतालाई विकास निर्माणको प्रत्यभूति पनि दिलाउनुपर्ने उहाँको भनाइ थियो ।

स्थानीय, प्रदेश र संघीय तीन तहको निर्वाचन नजिकिँदै गरेको बताउँदै नवनिर्वाचित केन्द्रीय सदस्य मधु आचार्य भन्नुहुन्छ– ‘निर्वाचनको बेला कांग्रेसभित्र मुख्य रुपमा टिकट वितरणमा विवाद हुने गर्छ ।’ टिकट वितरणका लागि अधिकार विकेन्द्रीकरण भए पनि केन्द्रले हस्तक्षेप गर्ने परिपाटी हटाउनुपर्ने भन्दै उहाँले टिकट वितरणमा केन्द्रले स्पष्ट मापदण्ड बनाउने कुरामा मात्र चासो दिनुपर्ने धारणा राख्नुभएको छ ।

नेपाली कांग्रेसका नेता कर्ण मल्लले दोस्रो कार्यकालका लागि कांग्रेसको नेतृत्व सम्हालेका सभापति शेरबहादुर देउवा सबै कांग्रेसको सभापति बनेमात्र पनि आगामी निर्वाचन जित्ने प्रशस्त आधार बन्ने बताउनुभएको छ । गत निर्वाचनमा वडा तहदेखि प्रतिनिधिसभाको निर्वाचनसम्ममा टिकट वितरण गर्न केन्द्रले हस्तक्षेप गरेका कारण कांग्रेसले लज्जाजनक हार बेहोरेको भन्दै उहाँले जो सक्षम छ उसैलाई टिकट दिने वातावरण नबनाए आउँदो निर्वाचन पनि हारिने बताउनुभएको छ ।

स्थानीय निर्वाचनपछि नै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको जनमत आउँछ कि आउँदैन भन्ने थाहा हुने बताउँदै कांग्रेस नेता मल्लले स्थानीय निर्वाचनबाट देशभरको जनमत बुझ्न सकिने बताउनुभएको छ । ०७४ सालको निर्वाचनमा सभापति देउवाले वडा तहमा समेत हस्तक्षेप गरी टिकट वितरण गरेको आरोप लगाउँदै अहिले जो सक्षम र जनप्रिय छ उसैलाई टिकट दिनुपर्ने बताउनुहुन्छ । ‘आगामी निर्वाचन जित्न सभापति देउवा सबै कांग्रेसको नेता बने मात्र सम्भव छ’, मल्ल भन्नुहुन्छ– ‘०७४ सालको निर्वाचनमा पनि टिकट वितरण गर्ने कार्य विकेन्द्रीकरण थियो तर सभापति देउवाले हस्तक्षेप गरेर बिगार्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्