देवी नाच देवता घरको मूल ढोकाको पूजा सम्पन्न

सम्पदा पुन निर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव छैन: मेयर शाक्य


काठमाडौँ ।

दि प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को खरु पूजा (मूल ढोकाको पूजा) गरिएको छ । काठमाडौँ महानगरपालिका वडा १८ बिज्यापुननी, किलागलमा रहेको देवघरमा गएर आज महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरि प्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा सदस्यहरू, नाचका नायो, कजी र गुरुसहित गुठियारहरूले मूल ढोकाको पूजा गर्नुभएको हो ।

पूजापछि अमूर्त सम्पदासँग जोडिएका मूर्त सम्पदा संरक्षणका विषयमा कुरा गर्दै मेयर शाक्यले, परम्परागत एवं तान्त्रिक नाच, वाद्यवादन, शृङ्गार जस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौँका मूर्त सम्पदालाई जीवन्त बनाइ राखेको उल्लेख गर्नुभयो । ‘यी चालचलनबिचको सम्बन्ध आपसमा जोडिएका छन् । एकको अभावमा अर्को अधुरो हुन्छ । त्यसैले हामीले सम्पदासँग जोडिएका सबै पक्ष (मूर्त अमूर्त) जोगिने गरी पुन निर्माणका लागि राज्यकारतर्फबाट लगानी गरिरहेका छौँ । हामीले बनाउँछौँ त्यसपछि संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित गुठियारलाई जिम्मा लगाउँछौँ ।’ शाक्यको भनाइ थियो ।

मठ मन्दिर पुन निर्माण गर्दा काठ, धातु र ढुङ्गामा कुँदिने कलाका लागि महानगरको दररेट र बजारको भाउ नमिलेर समयमा काम हुन सकेन । देवी नाच देव घरका गुठीयार नरेन्द्र महर्जनले मेयर शाक्यसँग समस्या सुनाउँदै भन्नुभयो, ‘कुमारीको प्रतीकका रूपमा राखिने मयुर झ्याल कुँद्न महानगरको दररेटअनुसार २० हजार रुपैयाँभन्दा बढी खर्च गर्न पाइँदैन । बजारमा ८० हजार रुपैयाँभन्दा कममा काम गर्ने कालिगढ पाइँदैन । यस्ता कारण समस्या परेको छ ।’

समस्या सुनिसकेपछि प्रतिक्रिया दिँदै मेयर शाक्यले भन्नुभयो, ‘उपभोक्तासँग महानगरले गर्ने कामको बजेट सीमा कम भएकोले यस्ता प्राविधिक समस्या परेका छन् । कलाकारितासँग जोडिएका काम व्यावसायिकभन्दा फरक प्रकृतिका हुन्छन् । यसमा लाग्ने खर्च धेरै हुन सक्छ । यस्ता खर्चलाई प्राविधिक रूपमा पुष्टि गर्नु पर्ने हुन्छ । सम्पदा पुन निर्माण गर्न रकमको होइन, यस्ता केही कानुनी र विधिगत समस्या छन् । प्रक्रियाले मिल्ने भए एकै पटक ६ करोड रुपैयाँ उपलब्ध गराउन महानगरलाई समस्या छैन । तर, विधिगत कारणले सबै रकम एकै पटक दिन सकिने अवस्था छैन ।’

त्यस क्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले, देवघर पुन निर्माणका लागि वडाले महानगरसँग गर्नुपर्ने प्रशासनिक र प्राविधिक समन्वयमा कमी हुन नदिने बताउनुभयो । समयमा निर्माण सम्पन्न होस् भन्ने हाम्रो चाहना हो । महर्जनको भनाइ थियो ।

देव घरका कजी नातिकाजी महर्जनले भवन निर्माण सम्पन्न भएपछि देवी नाचसँग सम्बन्धित सांस्कृतिक र सामाजिक काम गर्न धेरै सहज हुने धारणा राख्नुभयो ।भवन निर्माणका लागि ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महानगरले यसका लागि गएको बर्ष १ करोड रुपैयाँ र चालु आर्थिक वर्षका लागि १ करोड रुपैयाँ छुट्ट्याएको छ । जसमध्ये २ किस्ताबाट १ करोड २८ लाख ५८ हजार रुपैयाँ प्राप्त भइसकेको निर्माण समितिका कोषाध्यक्ष राजा महर्जनले बताउनुभयो । उहाँका अनुसार थप २५ लाख रुपैयाँ अर्को किस्तामा निकासा हुने चरणमा छ ।

अहिलेसम्ममा २ करोड १५ लाख रुपैयाँ बराबरको काम भएको छ । भवन ७ तले हुनेछ । देवी नाचमा ७ जना देवगण हुने भएकोले भवनलाई ७ तले बनाइने भएको हो ।