वर्षाले धकेलियो जिल्लास्तरीय भलिबल



हेटौंडा, (नेस) ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा हुने भनिएको जिल्लास्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण एक दिनपछि सरेको छ । आमभञ्ज्याङ युवा क्लबको आयोजनामा मकवानपुरगढी–५, धादिङमा हुने प्रतियोगिता बुधबार वर्षाका कारण स्थगित गरिएको क्लब अध्यक्ष राजेश अधिकारीले जानकारी दिए । पालिका अध्यक्ष विदुर हुमागाईंले प्रतियोगिता उद्घाटन गर्ने भनिए पनि मंगलबार रातिदेखि निरन्तर वर्षाका कारण बिहीबार बिहान ११ बजे हुने र खेल समयअनकूल भए बिहान ८ बजेदेखि सञ्चालन गर्ने खेल संयोजक इन्द्रप्रसाद सञ्जेलले जानकारी दिए ।

१२ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल कैलाश गाउँपालिका र बज्रबाराही क्लब थाहानगरबीच हुनेछ । प्रथम हुनेले ६६ हजार ६ सय ६६ तथा द्वितीय हुनेले ३३ हजार ३ सय ३३ नगद प्राप्त गर्नेछन् । तृतीय हुनेलाई १५ हजार नगद दिइनेछ भने सान्त्वना हुने टिमलाई ५ हजार नगद प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई ५ हजार तथा वेष्ट स्पाइकर, वेष्ट सेटर र वेष्ट ब्लकरलाई २/२ हजार प्रदान गरिनेछ । अनुशासित टिमले ३ हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्