मुस्ताङ र म्याग्दीको माथिल्लो क्षेत्रमा बाक्लो हिमपात (फोटो फिचर)

चिसो बढेपछि जनजीवन प्रभावित



म्याग्दी ।

हिमालपारीको जिल्ला मुस्ताङमा बाक्लो हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण आज (बुधबार) बिहानैदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको उपल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो क्षेत्रमा सामान्य हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले टेलिफोनमा जानकारी दिनुभयो । उहाँले अहिले पनि मुस्ताङको सदरमुकाम जोमसोमलगायत तल्लो क्षेत्रसम्मै सामान्य खालको हिमपात भैरहेको बताउनुभयो ।

हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् । हिमपात कारणले गर्दा उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा आज बिहानदेखि सम्पर्क हुन नसकेको प्रजिअ शर्माले बताउनुभयो । टेलिकमका टावरमा हिउँ जमेर व्याट्री डाउन भएपछि सम्पर्कबिच्छेद हुन सक्ने अनुमान गरिएको छ । अहिले मुस्ताङको तापक्रम क्रमशः माइनसतर्फ झरिरहेको हुँदा अत्यधिक चिसो भैरहेको स्थानीयले बताएका छन् ।

वर्षा र हिमपात तथा कुहिरोका कारण जोमसोम–पोखरा हवाई उडान पनि प्रभावित बनेको छ । मौसम प्रतिकुल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न सकेको छैन भने विमान कम्पनीले पनि उडान रद्द गरेको प्रजिअ शर्माले बताउनुभयो । मुस्ताङमा यो सिजनको तेस्रोपटक हिमपात भएको हो । हिमपातका कारण चिसो ह्वात्तै बढेकाले अहिलेको समयमा मुस्ताङ भ्रमण नगर्दा उचित हुने प्रजिअ शर्माको भनाइ छ ।

यसैबीच वर्षासँगै म्याग्दीको माथिल्लो क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको घारेपानी, पुनहिल, महरेडाँडा, खोप्रालेक, धवलागिरि गाउँपालिकाको गूर्जा, मुदीलगायत उच्च क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गए रातीदेखि परेको हिमपातका कारण म्याग्दीको पर्यटकीयस्थल घोरेपानी क्षेत्रमा एक फिटसम्म हिउँ जमेको पर्यटक प्रहरीचौकी घोरेपानीका प्रहरी जवान राजेश यादवले जानकारी दिनुभयो ।

अहिले म्याग्दी सदरमुकाम बेनीबजारसहित जिल्लाको तल्लो क्षेत्रमा सिमसिम पानी परिरहेको छ । म्याग्दीको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा भएको वर्षाले चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । चिसो बढेको हुँदा सर्वसाधारणहरु घरभित्रै आगो, हिटर तथा कोइला बालेर बस्न बाध्य छन् ।

मध्य पुसमा हिमपात र वर्षा भएपछि किसानहरु भने उत्साहित भएका छन् । हिमपात र वर्षाका कारण हिउँदे बालीको उत्पादन राम्रो हुनेहुँदा किसानमा खुसीयाली छाएको हो । यसवर्ष हिउँदे उत्पादन बढ्ने कृषि प्राविधिकहरुले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्