फलाम खानीको सम्भाव्यता अध्ययन शुरू



बैतडी ।

बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै छ। पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालीढुंगा र घरकटट्यामा फलाम खानी रहेको भनदै अध्ययन
थलिएको हो।

उक्त क्षेत्रको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौंको टोली आएको छ। शुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलोजिस्ट ठाकुर कँडेलले बताउनुभयो। ‘वस्तुस्थिति अवलोकन सकेका छौं, सम्भ्याव्यता अध्ययनमा छौं, पहिला फलाम उत्खनन गरेका ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गर्छौं र त्यसपछि जमिनमुनि फलाम रहे/नरहेको बारेमा अध्ययन हुन्छ।’ – उहाँको भनाइ छ।

भूगर्भविद् कँडेलले इलेक्ट्रिक एसिसटेन्ट र म्याग्नेटियम तरिकाबाट अध्ययन हुने जनाउनुभयो। सम्भाव्यता अध्ययनपछि फलाम भए/नभएको थाहा हुनेछ। भूगर्भविद्हरूको टोलीले तयार पारेको प्रतिवेदनपछि फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया शुरु हुने बताइएको छ। फलाम खानी सञ्चालन गर्न सके पुर्चौडी क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने पुर्चौंडी नगरपालिका–८ का वडाध्यक्ष जनकबहादुर विष्टले बताउनुभयो ।

सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट ठाकुर कँडेल नेतृत्वको टोली पुर्चौंडी पुगेको हो। उक्त टोलीमा जियोलोजिस्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली पनि रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्