सुत्केरी पत्रकारलाई भत्ता



हेटौंडा ।

प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनीता विष्टलाई ५ हजार रुपियाँ सुत्केरी भत्तासहित न्यानो कपडा प्रदान गरेको छ। जिल्लामा क्रियाशील पत्रकार महिला सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने पुस १० गतेको सेन्टरको बैठकको निर्णयअनुसार मंगलबार उक्त रकम प्रदान गरिएको हो ।

सेन्टर अध्यक्ष अञ्जली थापासहित पत्रकार टोलीले विष्टको घरमा पुगेर भत्तासहित न्यानो कपडा र पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको छ। महिला पत्रकार सुत्केरी अवस्थामा केही समय काममा फर्कन नसक्ने हुँदा आर्थिक समस्या पर्ने भएकाले थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले भत्ता उपलब्ध गराइएको अध्यक्ष थापाले बताउनुभयो ।

संस्थागतरूपमा निर्णय कार्यान्वयन गर्दा मिडिया हाउसलाई समेत महिला सञ्चारकर्मीप्रतिको उत्तरदायित्व पूरा गर्न दबाब सिर्जना हुने अध्यक्ष थापाको भनाइ छ। शुरुआती अवस्थामा सानो रकम भए पनि कार्यान्वयन गरिएको बताउँदै सेन्टरले आगामी दिनमा जिल्लामा क्रियाशील पत्रकार महिलाका लागि प्रभावकारी कार्यक्रम ल्याउने अध्यक्ष थापाले बताउनुभयो ।

सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको थियो। संगठन जिल्ला अध्यक्ष थापाले एउटा कालखण्ड नै समाजका निम्ति व्यतित गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकाले प्रेस संगठन मकवानपुरले अग्रज पत्रकारको उपचार खर्च पद्रान गर्ने निर्णय गरेको बताउनुभयो।

सुत्केरी अवस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै संगठनले सुत्केरीभत्ता दिने निर्णय गरेको अध्यक्ष थापाको भनाइ छ। पत्रकार महासंघ मकवानपुरले पनि सुत्केरी विष्टलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको छ। महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको नेतृत्वमा गएको महासंघ कार्यसमितिले आमा र बच्चाको सुस्वास्थ्यको कामना गरेको छ ।

अध्यक्ष गौतमले सुत्केरी पत्रकारलाई काममा फर्कने वातावारण निर्माणका लागि महासंघले केही नयाँ काम गर्ने बताउनुभयो। उहाँले कार्यालयमा आमा पत्रकारका लागि बेबी केयरसँगै स्तनपानकक्ष व्यवस्थाको पहल गरिने जनाउने जनाउनुभयो।

सञ्चारिका समूह मकवानपुरले पनि सुत्केरी विष्टलाई खाद्यान्न उपलब्ध गराएको छ। सञ्चारिका समूह मकवानपुर अध्यक्ष सम्झना रिजाल र सचिव सिर्जना नेपालसहित टोली विष्टलाई भेट्न घर पुगेको थियो। मकवानपुरमा करिब ५० जना पत्रकार महिला छन् ।

प्रतिक्रिया दिनुहोस्