ल्होछारमा सांस्कृतिक उत्सव हुने



लमजुङ ।

तामाङ समुदायको नयाँ वर्ष २८५८औं सोनाम ल्होछारको अवसरमा लमजुङमा सांस्कृतिक उत्सव हुने भएको छ । सदरमुकाम बेंसीशहरमा नेपाल तामाङ संस्कृति घेदुङ् जिल्ला समन्वय समिति लमजुङको आयोजनामा सांस्कृतिक उत्सव हुने भएको हो ।

आयोजक समितिले मंगलबार सदरमुकाम बेंसीशहरमा पत्रकार सम्मेलन आयोजना गरी सांस्कृतिक उत्सवको बारेमा जानकारी गराएको छ । तामाङ समुदायको वर्गचक्रअनुसार तक ल्हो (बाघ वर्ग) को अवसरमा माघको ८ गते उत्सव आयोजना हुने भएको हो । ‘हाम्रो भाषा, धर्म, संस्कार, कला र संस्कृति हाम्रो पहिचान, सांस्कृतिक पुनर्जागरण गरी सभ्य र समृद्ध समाज निर्माण गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ एकता र भातृत्वका लागि उत्सव आयोजना गरिएको नेपाल तामाङ संस्कृति घेदुङ् जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष विकास तामाङले बताउनुभयो । तामाङ समुदायको भाषा, धर्म, लिपि, मौलिक संस्कार संस्कृति पहिचान र समृद्धिका साथै आफ्नो मौलिक संस्कृतिको सम्वद्र्धन, प्रवद्र्धन एवं मनोरञ्जन प्रदान गर्दै तामाङहरुको आर्थिक समाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउन उत्सव आयोजना गरिएको अध्यक्ष तामाङ बताउनुहुन्छ ।

बेंसीशहरको फूलबारी मञ्चमा आयोजना हुने सांस्कृतिक उत्सवमा तामाङ जातिको परम्परागत रूपमा प्रयोग हुँदै आइरहेको भेषभूषा, बाजागाजा, बोम्वो, ताम्वा, लामा, गन्वा आदिको प्रदर्शन गर्ने तयारी रहेको आयोजकले जनाएको छ । सोसँगै तामाल समुदायमा प्रचलित परम्परागत खाना, साहित्यिक कार्यक्रम, झाँकी तथा र्याली प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिको साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी भएको अध्यक्ष तामाङले बताउनुभयो ।

करिव ७ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको सो सांस्कृतिक उत्सवका लागि गण्डकी प्रदेश सरकार, जिल्लास्थित स्थानीय तहहरु, स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका व्यक्ति एवं अन्य सरोकारवालासँग सहयोग अपेक्षा गरेको आयोजकले जनाएको छ । उत्सवलाई सभ्य र भव्य बनाउने मूल समारोहसहित विभन्न उपसमितिहरु गठन गरिएको छ ।
सामान्यतय मान्यजनबाट आशिर्वाद लिने, आफन्तसँग भेटघाट गरी मीठा–मीठा परिकार खाने खुवाउने र नाचगान गरी ल्होछार मनाउने गरिन्छ । विभिन्न ठाउँमा छरिएर रहेका तामाङ समुदायलाई एकठाउँमा जम्मा गरी एकता र भातृत्वका लागि महोत्सव नै आयोजना गरेको नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारीणी समितिका अध्यक्ष तामाङले बताउनुभयो ।
सोनाम ल्होछारका अवसरमा तामाङ समुदायमा ठूलाबडासँग आशिर्वाद लिने तथा घर या गुम्वाहरुमा पूजापाठ समेत गर्ने गरिन्छ ।

ल्हो भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउने हुँदा तामाङको नयाँ वर्ष नै ल्होछार हो । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई विभिन्न जनावर तथा पक्षीको प्रतीकका रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्