म्याग्दीमा २६ सय मतदाता थपिए



म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा सञ्चालित तश्वीरसहितको मतदाता नामावलीमा २६ सय मतदाता थपिएका छन् । आगामी चुनावमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य पदका लागि मतदाता नामावली संकलन गरिएको हो ।

गएको मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा १० दिनसम्म तश्वरसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । ती पालिकामा ३ वटा टोलीमार्फत नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । यसै गरी, २ वटा टोलीले गएको मंसिर २९ गतेदेखि यही पुसको ९ गतेसम्म रघगंगा र मंगला गाउँपालिकामा मतदाता नामावली संकलन गरेको थियो ।

उक्त टोलीले पालिकाको केन्द्रमा रहेर १० दिनसम्म तश्वीरसहितको मतदाता नामावली संकलनको कार्य सञ्चालन गरेको थियो भने बेनी नगरपालिकाको हकमा जिल्ला निर्वाचन कार्यालयबाटै मतदाता नामावली संकलन गरिएको थियो । जिल्लाको पाँचवटा गाउँपालिमा सञ्चालित तश्वीरसहितको मतदाता नामावली संकलनको कार्यक्रममार्फत कुल २ हजार ६ सय २ जनाको मतदाता नामावली संकलन गरेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिकामा सञ्चालित तश्वीरसहितको मतदाता नामावली संकलनको कार्य सकिएको छ भने अहिले जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत मतदाता नामावली संकलन भइरहेको छ । यसअघि गाउँपालिकामा सञ्चालित तश्वीरसहितको मतदाता नामावली संकलनको कार्यक्रमबाट सबैभन्दा धेरै मालिका गाउँपालिकामा ८ सय ३५ जनाले नामदर्ता गराएका छन् ।

त्यस्तै, मंगलामा ७ सय ७९, अन्नपूर्णमा ४ सय ६७, रघुगंगामा २ सय ८९ र धवलागिरिमा २ सय ३२ जनाको नामावली संकलन गरिएको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो ।

मतदाता नामावली संकलनको कार्यक्रममार्फत अहिले पालिकामा सञ्चालित कार्यक्रममा नामदर्ता गराउन छुट भएका मतदाता तथा म्याग्दी जिल्लाभन्दा बाहिरका नागरिकको पनि नामावली संकलन भइरहेको छ । गाउँपालिकामा सञ्चालित अभियानका क्रममा मतदाता नामावली संकलनमा छुटेका नागरिकहरुले जिल्ला निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो नाम समावेश गराउन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सरकारले निर्वाचनको मिति घोषणा गरेपश्चात् सोही दिनदेखि मतदाता नामावली संकलनको कार्य रोकिनेछ । निर्वाचन आयोगले २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई समावेश गरी गएको चैत ४ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो । प्रकाशित नामावलीअनुसार हाल देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेकोमा म्याग्दी जिल्लामा भने ८० हजार १ सय ५४ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्