चट्टान आरोहण प्रतियोगिता



तनहुँ ।

पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहराको संरक्षणका लागि चट्टान आरोहण प्रतियोगिता गरिएको छ । बन्दीपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र गण्डकी अल्पाइन क्लब पोखराको संयुक्त आयोजनामा चट्टान आरोहण प्रतियोगिता भएको हो ।

पृथ्वी राजमार्ग विस्तारका क्रममा पहरा मासिने चर्चा चलेसँगै यसको संरक्षणका लागि ध्यानाकर्षण गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको चुनपहरा बचाउ अभियानका अभियन्ता एवं सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘साहसिक पर्यटनको प्रवद्र्धन गरौं ः विमलनगर चुनपहरा जोगाऔं’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता गरिएको थियो ।

महिला र पुरुष गरी दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा महिलातर्फ पञ्चमाया तामाङ पहिलो भइन् । तामाङले ५० हजार ५ सय रुपियाँ तथा एक वर्षको निःशुल्क एक्स्ट्रा वाल क्लाइम्बिङको अवसर प्राप्त गरिन् । रुसा प्रधान दोस्रो हुँदै २० हजार रुपियाँ र ६ महिनाको एक्स्ट्रा वाल क्लाइम्बिङको अवसर प्राप्त गरिन् । जापानकी सावा सूचिता तेस्रो हुँदै १० हजार, ३ महिनाको एक्स्ट्रा वाल क्लाइम्बिङ अवसर हासिल गरिन् ।

त्यस्तै, प्रतियोगिताको पुरुषतर्फ दिपन गुरुङ पहिलो हुँदै ५० हजार ५ सय रुपियाँ र एक वर्षको निःशुल्क एक्स्ट्रा वाल क्लाइम्बिङको अवसर प्राप्त गरे । सुलभ राई दोस्रो हुँदै २० हजार रुपियाँ र ६ महिनाको एक्स्ट्रा वाल क्लाइम्बिङको अवसर प्राप्त गरे तथा तेन्जिङ राई तेस्रो हुँदै १० हजार र ३ महिनाको एक्स्ट्रा वाल क्लाइम्बिङ अवसर प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्