एनओसीको साधारणसभा सम्पन्न



काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीको १२औं साधारण सभा मंगलबार सातदोबाटो स्थिति ओलम्पिक भवनमा सम्पन्न भएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्दै उक्त सभामा सर्वोच्च अदालतको आदेशले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताउनुहुँदै देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्दालाई अग्रताधिकारमा राखेर हेर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवका विषयमा सर्वोच्च अदालतको आदेशबारे बोल्नुहुँदै मन्त्री गहतराजले समस्याको चाँडै समाधान हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अदालतले जस्तो निर्णय गर्छ, सरकार त्यसको पालना गर्न तयार छ । तर, यसको जति सक्दो चाँडै फैसला हुने अपेक्षा छ ।’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले त्यस अवसरमा खेलकुदको विषयमा तत्काल निर्णयमा पुग्ने काम हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नु हुन्न ।’ उद्घाटन सत्रमा स्वागत भाषण गर्नुहुँदै नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले अहिले नेपाली खेलकुदमा अन्योलता छाएको बताउनुहुँदै त्यसको समाधान चाँडै भन्दा चाँडै आवश्यक रहेको बताउनुभयो । यस्तै, उहाँले १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि खेल संघलाई दिने भनिएको पुरस्कार राशि चाँडै उपलब्ध गराउनु पनि अनुरोध गर्नुभयो ।

त्यस अवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकासित पुस्तकको पनि विमोचन गरिएको थियो । साधारण सभाको बन्द सत्रमा साधारण सभाले कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ सन् २०२१ को प्रगति विवरण पेस गर्नुहुँदै सन् २०२२ का लागि कार्यक्रम पनि प्रस्तुत गर्नुभयो । यस्तै, कोषाध्यक्ष रत्नकुमार टण्डनले आर्थिक वर्ष ०७७/०७८ को आयव्यय विवरण पेस गर्नुभयो ।

उहाँले सन् २०२२ का लागि अनुमानित बजेट पनि प्रस्तुत गर्नुभयो । साधारण सभाले महासचिव र कोषाध्यक्ष दुवैको प्रतिवेदन पनि पास गरेको छ । त्यसै अवसरमा नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको विभिन्न कमिसनका अध्यक्षहरूले पनि आफ्नो प्रगति विवरण पेस गर्नुभयो । कार्यक्रममा कमिटीका सदस्य तथा मार्केटिङ कमिसनका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सन् २०२१ बाट नेपाल ओलम्पिक कमिटीले दिने भनेर घोषणा गरेको नौ फरक विधामा अवार्डबारे जानकारी दिनुभयो ।

कमिटीले आउने वर्षदेखि पत्रकारिता अन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भिजुअल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड दिने भएको छ । यस्तै, ओलम्पिक आन्दोलनमा टेवा पुर्याउनेमध्येमा पनि तीन विधामा सम्मान गरिनेछ ।

यस्तै, संघका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का निर्देशनअनुसार अबका दिनमा खेल संघ तीन महत्वपूर्ण पक्ष लैंगिक समानता, खेलकुदमा हिंसा र खेलमिलोमतोमा सजग तथा सचेत रहनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्