पोल्यान्डका फरवार्ड लेवान्डोस्कीलाई दुई अवार्ड



दुबई, (एजेन्सी) ।

जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले एकसाथ दुई अवार्ड जितेका छन् । सोमबार राति दुबईमा आयोजित ‘ग्लोब सकर अवार्ड’ समारोहमा उनलाई वर्षको सर्वोत्कृष्ट फ्यान भोटिङ प्लेयर र वर्षको सर्वोत्कृष्ट गोलकर्ता गरी एकसाथ दुई अवार्डले सम्मानित गरिएको हो । यस वर्षको बालोन डी ओर अवार्डमा दोस्रो बनेका उनले त्यहाँ ‘टप स्कोरर अफ् द इयर फर २०२१’ र ‘म्याराडोना अवार्ड फर बेस्ट गोल स्कोरर २०२१’ गरी दुई अवार्ड जिते । ग्लोब सकर अवार्ड युरोपियन क्लब एसोसिएसनले हरेक वर्ष प्रदान गर्ने अवार्ड हो ।

२०२१ मा सर्वाधिक गोल गरेका आधारमा पोल्यान्डका ३२ वर्षीय फरवार्डलाई ‘म्याराडोना बेस्ट गोल स्कोरर अवार्ड’ प्रदान गरियो भने फ्यानको भोटिङका आधारमा पनि उनलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पनि प्रदान गरिएको छ । यो अवार्डको नाम ‘द टिकटक फ्यान्स प्लेयर अफ् द इयर अवार्ड’ हो । यो अवार्ड फ्यानको भोटिङका आधारमा निर्णय गरिन्छ ।
फ्यान भोटिङका आधारमा रोवर्ट लेवान्डोस्की वर्षको बेस्ट खेलाडी घोषित भए पनि आयोजकको मूल्यांकनबाट दिने बेस्ट खेलाडीको अवार्डमा फ्रेन्च क्लब पीएसजीका युवा स्टार क्लियन एमबाप्पे ‘बेस्ट प्लेयर अफ् द इयर’ घोषित भए । आयोजकको जज जुरीले एमबाप्पेलाई बेस्ट प्लेयर छान्दा फ्यानले भने लेवान्डोस्कीलाई छाने । दुबईमा आयोजित सभामा लेवान्डोस्की दुईवटा अवार्ड लिन आफैं पुगेका थिए ।

वर्ष २०२१ मा बार्यनका फरवार्डले सानदार प्रदर्शन गर्दै कुल ६९ गोल १२ गोलमा असिस्ट प्रदान गरेका थिए । यता, बालोन डि ओर जितेका पीएसजीका लिओनल मेसीले पनि ग्लोब सकर अवार्डमा कुनै पनि अवार्ड पाएनन् । उनी बेस्ट प्लेयर र टिकटक फ्यान्स अवार्ड दुवैमा मनोनयनमा परेका थिए ।

यस वर्ष सातौं बालोन डी ओर जितेका फ्रेन्च क्लब पीएसजी तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसी र यस वर्ष कुल ६९ गोल गरेका जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीलाई पछि पार्दै पीएसजीका फ्रेन्च स्टार क्लियन एमबाप्पेले ‘दुबई ग्लोब सकर’ अवार्ड जितेका छन् । दुबईमा आयोजित उक्त समारोहमा २२ वर्षका एमबाप्पे ‘मेन्स प्लेयर अफ् द इयर २०२१’ घोषित भएका हुन् ।

दुबई सकर अवार्ड हरेक वर्ष युरोपियन क्लब एसोसिएसनले आयोजना गर्ने गर्छ । जसमा अनलाइन भोटिङ तथा जज भोटिङका आधारमा अन्तिम नतिजा घोषणा गरिन्छ । अन्तिम नतिजा आउँदा पुरुष फुटबलतर्फ एमबाप्पे वर्ष २०२१ को सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस वर्ष एमबाप्पेले कुल ५१ गोल गरे ।

एमबाप्पेले यस वर्षको बालोन डिओर अवार्ड जितेका आफ्नै क्लब सहकर्मी लिओनल मेसी र बार्यनका पोलिस फरवार्ड लेवान्डोस्कीलाई समेत पछि पार्दै अवार्ड जिते । उनले पहिलोपटक यो अवार्ड जितेका हुन् । यस अवार्डका लागि मेसी, लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, जर्जिन्हो, करिम बेन्जेमा सहितका खेलाडी मनोनयनमा परेका थिए ।

रोनाल्डोलाई सर्वकालीन गोलकर्ता अवार्ड
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वकालीन सर्वाधिक गोलकर्ता खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति दुबईमा आयोजित ग्लोब सकर अवार्ड घोषणा सभामा ३७ वर्षका रोनाल्डोलाई ‘टप स्कोर अफ् अल टाइम’ अवार्डबाट सम्मानित गरिएको हो । रोनाल्डो आगामी फेब्रअुरी महिनामा ३७ वर्ष पुग्दैछन् ।

रोनाल्डोले यस वर्ष समग्र करिअरमा ८ सय गोलको आँकडा पूरा गरेर इतिहास रचे । उनी फुटबल इतिहासमा ८ सय गोल नघाउने एक मात्रै कीर्तिमानी खेलाडी हुन् । यसै वर्ष उनले अन्तर्राष्ट्रिय फुटबलमा इरानका लिजेन्ड अली डेईका नाममा रहेको सर्वाधिक १ सय ९ गोलको कीर्तिमान भंग गरेर आफ्नो नाममा लेखाए ।

रोनाल्डो अहिले कुल १ सय १५ गोलका साथमा अन्तर्राष्ट्रिय फुटबल इतिहासमा सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उता, समग्र फुटबल इतिहास (क्लब तथा देश) मा पनि रोनाल्डो सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । यस आधारमा उनलाई ग्लोब सकर अवार्डमा सर्वकालीन सर्वाधिक गोलकर्ता खोडीको अवार्डले सम्मानित गरिएको हो ।

ताजा अवस्थामा रोनाल्डोले समग्र करिअरका देश तथा क्लबका लागि गरी कुल ८ सय २ गोल गरेका छन् । जसमा उनले पोर्चुगलको राष्ट्रिय टोलीका लागि १ सय ८४ खेलबाट १ सय १५ गोल गरेका छन् भने क्लब फुटबलका कुल ९ सय १५ खेलबाट ६ सय ८७ गोल गरेका छन् । उनले युरोपियन च्याम्पियन्स लिग फुटबलका कुल १ सय ८७ खेलबाट १ सय ४१ गोल गरेका छन् । उनी यस प्रतियोगिताको पनि सर्वाधिक गोलकर्ता हुन् ।

इटालियन युभेन्टसबाट युनाइटेड फर्केका रोनाल्डोले हालसम्म च्याम्पियन्स लिग ५ खेलबाट ६ गोल गरेका छन् भने प्रिमियर लिगमा १४ खेलबाट ७ गोल गरेका छन् । उनले तीन गोलमा असिस्ट पनि गरेका छन् । उनले युनाइटेड पुगिकन कुल ७ खेलमा म्यान् अफ् द म्याच अवार्ड पनि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्