नेपाललाई एभीसी एसियन सेन्ट्रलको उपाधि



काठमाडौं ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा मंगलबार उपाधि जितेको छ । नेपालले ढाकास्थित मिरपुर साहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ सेटले हराएको हो । योसँगै नेपालले लगातार दोस्रोपटक प्रतियोगितामा उपाधि जितेको छ । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० ले जित्न सफल भयो ।

नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर उपाधि जितेको थियो । यो नेपाली भलिबलमा ऐतिहासिक उपाधिसमेत हो । पहिलो सेटमा १२–१७ ले पछि रहेको नेपालले २६–२४ अंकमा सेट आफ्नो बनाउन सफल भएको थियो । दोस्रो सेटमा भने उज्वेकिस्तानले जित हात पार्दै खेल १–१ सेट बराबर गर्यो ।
तेस्रो सेटमा भने नेपालले उज्वेकिस्तानविरुद्ध आरामका साथ अंक जुटाएर २५–१५ अंकको अग्रता लिँदै सेट हासिल गरेको थियो । योसँगै नेपालले खेलमा २–१ सेटको अग्रता बनायो । तर, चौथो सेटमा उज्वेकिस्तानले पुनरागमन गर्दै सेट जितेपछि खेलको निर्णय निर्णायक सेटमा पुगेको थियो । उक्त पाँचौं सेटमा नेपालले १५–१० अंकले जित्दै उपाधि पनि हात पार्न सफल भयो ।

यस्तै, प्रतियोगितामा श्रीलंकाले तेस्रो स्थान हासिल गरेको थियो । श्रीलंकाले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएर तेस्रो स्थान हासिल गरेको थियो । २३ डिसेम्बरबाट शुरू भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेका थिए । च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने क्रममा नेपालले सबै खेल जित्दै शीर्ष स्थान हात पारेको थियो ।

पुरुष टिम पदकविहीन
नेपाली राष्ट्रिय पुरुष भलिबल टिम भने पदकविहीन बनेको छ । तेस्रो स्थानको लागि खेलेको नेपाल उज्वेकिस्तानसँग सोझो सेटमा हारेपछि पदकविहीन भएको थियो । नेपाललाई उज्वेकिस्तानले २५–१५, २५–१७, २५–२२ ले हराएको थियो । जबकि, लिग चरणम नेपालले उज्वेकिस्तानलाई हराएको थियो । यो विधाको फाइनलमा श्रीलंकाले घरेलु टिम बंगलादेशलाई हराएर उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्