२८ वर्ष पछि फरार अभियुक्त पक्राउ



रामेछाप ।

जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दोरम्बा सैलुङ गाउँपालिका वडा नं ४ गौश्वरा स्थायी घर भएका अन्दाजी ५५ वर्षीय होमबहादुर थापा मगर रहेका छन् । उनलाई प्रहरीले टोलीले सोमबार उनकै घरबाट पक्राउ गरिएको हो ।

थापा मगरले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई चक्कु प्रहार गरेर हत्या गरेको रामेछापका प्रहरी प्रमुख डिएसपी नवराज ढुङ्गानाले बताए । हत्या पछि उनी फरार रहेका थिए ।

थापा मगरलाई जिल्ला अदालत रामेछापबाट २०५० फागुन १६ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएको थियो । घटनामा थापामगर सहित ४ जनाले संलग्न रहेका थिए । अन्य दोषीहरू पक्राउ परि सजाय भुक्तान गरी सकेका छन् ।

थापामगर भने घटना पश्चात् लुकिछिपी बस्दै आएका थिए । पक्राउ परेका थापामगरलाई मंगलबार जिल्ला अदालत रामेछाप पेस गरिएको डिएसपी ढुङ्गानाले बताए ।

प्रतिक्रिया दिनुहोस्