स्थानीय पाठ्यक्रम लागु गर्दै तानसेन नगरपालिका



पाल्पा ।

सरकारले आधारभूत तहमा लागु गरेको स्थानीय पाठ्यक्रमलाई पाल्पाको तानसेन नगरपालिकाले पनि लागु गर्ने तयारी गरेको छ । विभिन्न क्षेत्रका विज्ञ सम्मिलित टोलीले तयार गरेको आधारभूत तह (कक्षा १–८) को स्थानीय पाठ्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले यो पाठ्यक्रम लागु गर्ने जनाएको हो । स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि तथा ज्ञानलाई समेटेर नगरपालिकाले ‘पुर्खाको नासो हाम्रो तानसेन’ नामक पाठ्यक्रम सार्वजनिक गरेको हो ।

पाठ्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख अशोककुमार शाहीले स्थानीय रूपमा प्रचलित भाषा, कला, संस्कृति, ज्ञान, सीप तथा प्रविधिको संरक्षण र प्रबद्र्धन गर्न स्थानीय पाठ्यक्रम निर्माण गरेर लागु गर्न लागिएको बताउनुभयो । बालबालिकाले आफ्नो पहिचान दिन सक्ने बनाउन र लोप हुँदै गएको संस्कृति, भाषा तथा ज्ञानको विकास एवं संरक्षण गर्न पाठ्यक्रम महत्वपूर्ण आधार बन्ने उहाँको भनाइ थियो ।

पाठ्यक्रम निर्माण समितिका संयोजक लोचनप्रसाद तिमिल्सिनाले स्थानीय विषयवस्तु र आवश्यकलाई सम्बोधन गर्न, स्थानीय ज्ञान, सीप र प्रविधिको विकास गर्न, व्यवहारिक र सिर्जनशील सीपको विकास गर्न पाठ्नक्रम निर्माण गरेर लागु गर्न लागिएको बताउनुभयो । यस्तै, लोकतन्त्रका मूल्यमान्यता अबलम्बन गर्न, असल र उदाहरणीय व्यक्तित्व निर्माण गर्न, मौलिक पहिचान र विविधताप्रति गर्व गर्नका लागि पाठ्यक्रमले भूमिका खेल्ने उहाँले बताउनुभयो ।

सार्वजनिक गरिएको पाठ्यक्रमलाई परिमार्जन गर्दै लैजाने र समयसापेक्ष बनाउने शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनुभयो । कक्षा १–८ सम्मको एउटै पाठ्क्रममा समेट्नु परेकाले कतिपय विषय छुटेको हुन सक्ने र त्यसलाई क्रमशः समेट्दै लैजाने न्यौपानेको भनाइ छ ।

स्थानीय पाठ्क्रम निर्माणका लागि नगरपालिकाले दुई वर्षअघिदेखि नै शिक्षा क्षेत्रका विज्ञहरूसँग छलफल गरेको थियो । यस्तै, स्थानीय पाठ्यक्रम लागु भएका स्थानीय तहको भ्रमण, स्थानीय शैक्षिक व्यक्तिहरूसँग छलफल गरेको थियो । नगरपालिकाले आगामी शैक्षिक सत्र २०७९ देखि स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेयले जानकारी दिनुभयो ।

पाठ्यक्रम लागु गर्नका लागि पाठ्यपुस्तकको तयारी गर्ने, शिक्षकलाई प्रवोधीकरण गर्ने, विद्यालय व्यवस्थापन समिति र प्रशासनलाई जानकारी दिने जस्ता कामलाई छिट्टै अगाडि बढाउने पाण्डेयले बताउनुभयो । संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तह आफैंले एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम बनाई कार्यान्वयन गर्न सक्ने प्रावधानलाई टेकेर आधारभूत तह (१–८)को पाठ्यक्रम तयार गरिएको पाठ्यक्रम निर्माण समितिका सदस्य भेषराज सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठक, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, नेपाल रेडक्रम सोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्मा, शिक्षक महासंघ तानसेनका अध्यक्ष हरिप्रसाद घिमिरे, जनता माविका प्रधानाध्यापक गणेशराज ज्ञवाली, प्याब्सन तानसेनका अध्यक्ष गंगाबहादुर खत्री, विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले आ–सल्लाहसुझावसहित मतव्य राख्नुभएको थियो ।

कार्यक्रममा पाठ्यक्रम निर्माण समितिका सदस्य तीर्थ गौतमले पाठ्यक्रमको उद्देश्य, विषयवस्तु तथा यसको औचित्यका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम समितिका संयोजक एवं वडा नं. १० का अध्यक्ष लोचनप्रसाद तिमिल्सिनाको अध्यक्षता र रेशमलाल न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि जिल्लाका माथागढी, वगनासकालीलगायतका स्थानीय तहले पाठ्यक्रम र पाठ्यपुस्तकसमेत तयार गरी लागु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्