हिटाकर्मीमाथि भएको दुर्व्यवहारको मिडिया एलाइन्सद्वारा भत्र्सना



काठमाडौं, (नेस) ।

मिडिया एलाइन्सले पत्रिका वितरणका क्रममा मंगलबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिव जीवनारायण काफ्लेले हिमालय टाइम्सकर्मीमाथि गरेको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एलाइन्सले पत्रिका वितरणका क्रममा कार्यालय हाताभित्र हिटाकर्मी न्हुछेराम खुसुमाथि काफ्लेले गरेको दुर्व्यवहारको विज्ञप्तिमार्फत घोर भत्र्सना गरेको छ ।

‘पत्रिका वितरणका लागि सीटीईभीटी पुगेका खुसुमाथि पत्रिकामा प्रकाशित समाचारलाई लिएर काफ्लेले केहीबेर कार्यालयमै थुनेको घटना निन्दनीय छ’ –विज्ञप्तिमा भनिएको छ । काफ्लेका विभिन्न शंकास्पद गतिविधिविरुद्ध विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएका, समाचारप्रति चित नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिनेजस्ता व्यवस्था रहेको भए पनि काफ्ले भौतिक आक्रमणमा उत्रिनु खेदजनक भएको एलाइन्सले बताएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘समाचार प्रकाशन भएको विषयमा चित्त नबुझ्ने पक्षले कानुनी बाटोबाट उपचार पाउने हक सुरक्षित छ । तर, सोझै धम्की दिनु निन्दनीय छ । प्रेस स्वतन्त्रतामाथिको नांगो हस्तक्षेप एलाइन्सलाई सैह्य छैन ।’ अतः समाचार लेखेकै आधारमा गाली गलौज गर्ने, धम्की र बन्धकसमेत बनाउने जोकोही भए पनि तत्काल कानुनी कारबाही गर्न तथा भविष्यमा समेत यस्ता घटना दोहोरिन नदिन सम्बन्धित पक्षलाई सतर्क रहन एलाइन्सले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्