सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग



काठमाडौं ।

सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ । स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्तीको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरूले यस्तो माग गरेका हुन् । उनीहरूले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराई नभई श्रेष्ठ भएको दाबी गरेका छन् ।

२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उहाँलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेवाः पत्रकार राष्ट्रिय दबूको माग छ । श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक हुनुहुन्थ्यो । उहाँकै सभापतित्वमा तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै भएको दाबी दबुको छ ।

श्रेष्ठकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाज भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायणबहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि मात्र २०१२ साल चैत्र १६ गते दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई उक्त पत्रकार संघको सभापति हुनुभएको थियो । सत्यनारायणबहादुर श्रेष्ठभन्दा चार वर्षपछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई नै हाल पत्रकार महासंघको संस्थापक सभापति भन्ने गरिएको छ ।

सो अवसरमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघको संस्थापक बहसबारे महासंघका सम्बद्ध पक्ष पन्छिन नहुने जिकिर गर्दै भन्नुभयो– ‘नेपाली सञ्चारवृत्तमा उठिरहेको महासंघको संस्थापक अध्यक्ष बारेको बहसमा सम्बद्ध पक्षले जवाफ दिन आलटाल गर्ने होइन । यसबारे गम्भीर बहस र छलफल गर्नुपर्दछ ।’

समारोहमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले संस्थापक अध्यक्षको बहसको उद्देश्य २०१२ सालमा महासंघको नेतृत्व गर्ने स्वर्गीय भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासमा बंग्याइएको तथ्यलाई स्थापित गर्नु रहेको बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघले आफ्नो संस्थापक अध्यक्षको प्रश्नमा पुनर्विचार गर्न जरुरी रहेकोमा जोड दिनुभयो । सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार एवं वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिहंले सत्यतथ्य सबैलाई थाहा भए पनि कसैले सम्बोधन नगरेको बताउँदै भन्नुभयो– ‘महासंघको अहिलेको संस्थापक अध्यक्षमा देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले स्वर्गीय श्रेष्ठको योगदानको इतिहास विस्मृतिमा परेको हो ।’

स्वर्गीय श्रेष्ठकी छोरी सुजिता मानन्धरले सो विषयमा थप अध्ययन र प्रमाणहरू जुटाउँदै सकारात्मक रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले इतिहासको तथ्यलाई मेट्न खोजिएकाले पत्रकार महासंघको संस्थापकको मुद्दा न्यायको लडाइँ रहेको बताउनुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जनले इतिहासको अपव्याख्या गर्न नहुनेमा जोड दिँदै भन्नुभयो– ‘२००७ सालमा देशमा प्रजातन्त्र आयो । २००८ सालमा नै श्रेष्ठले पत्रकारहरूका संगठन गठन गर्नुभयो । यो उहाँको दूरदर्शिताको प्रमाण हो । इतिहासको यो कालखण्डको अपव्याख्या गर्नुहुन्न ।’
उहाँको तस्वीरमा अतिथि तथा उपस्थित पत्रकारहरूले माल्यार्पण गरी समारोहको सुरुआत गरिएको थियो । सोही समारोहमा प्रमुख अतिथिका रूपमा व्यक्ति विशेष कसैलाई उल्लेख नगरी उहाँलाई प्रतीकात्मक रूपमा कार्यक्रमको मुख्य व्यक्तिमा सम्बोधन गरिएको थियो ।

ग्रीष्मबहादुर देवकोटाको नेपाली छापाखानाको इतिहास नामक पुस्तक र केही अन्य दस्तावेजलाई आधार लिएर पत्रकार महासंघको संस्थापक अध्यक्षबारे बहस हुँदै आएकोमा एक दशकयता पत्रकार राष्ट्रिय दबूले ‘न्यायको लडाइँ’ का रूपमा अभियानलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्