कैलालीमा बलियो सुरक्षा प्रबन्ध गर्न गृहमन्त्री खाँणको निर्देशन



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले कैलालीको लम्कीमा प्रहरी नायव उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नावय निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँणले आज प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई उक्त निर्देशन दिनुभएको हो । जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री खाँणले मजबुद सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । हाल अमरावतीमा प्रहरी सहायक निरीक्षक र लम्कीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ छ । मन्त्री खाँणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताउनुभयो । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।

टोलीले मन्त्री खाँणलाई बुझाएको ध्यानाकर्षणपत्रमा गत कात्तिक २३ गते टिकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै यही पुस २ गते जानकी गाउँपालिका–९ अमरावतीमा अर्जुन दासको हत्याको निष्पक्ष छानविन गरी दोषीलाई कानून बमोजिम कारबाहीको माग गरिएको छ । ध्यानाकर्षणपत्रमा कमजोर सुरक्षा निगरानीका कारण कैलालीमा आपराधिक घटना भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्