सलबलाउन थाल्यो नेटवर्किङ बिजनेस !



पोखरा ।

भरर्खरै क्याम्पस पढ्दै गरेका विद्यार्थी जसलाई आवश्यक थियो जागिरको । यो समस्या हरेक क्याम्पस पढ्ने विद्यार्थीको हो । कानुनले नै गैरकानुनी भनेको नेटवर्किङ बिजनेस पोखरामा भने सल्बलाउन थालेको छ ।

जागिरको खोजिमा वा धेरै पैसा कमाउने धेययमा रहेका युवाहरुलाई लक्षित गर्दै केही व्यक्तिले एउटा च्यानलनै बनाएर गर्ने विभिन्न व्यापार व्यवसाय जुन कानुन भन्दा विपरीत हुन्छ । त्यसैको शिकारमा पोखरामा फसेका छन् सयौं युवा । शुरुमा राम्रो जागिर पाउने र लगानी गरे धेरै मुनाफा दिने प्रलोभनमा पारी पोखरामा कयौं युवा ठगिएका छन् । तिनै ठगिने मध्येका एक हुन् सुजय तामाङ । भरर्खरै १८ वर्ष पुगेका उनी कालिबा बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय पढिरहेका छन् ।

मुना गुरुङमार्फत उक्त कार्यालयमा जोडिएका उनलाई फसिन्छ भन्ने नै लागेको थिएन । कक्षको विश्वासिलो साथीले राम्रो हुन्छ भन्दै लैजाँदा कार्यालयमा पुगेपछि भने अकै रूप देखियो । कार्यालयले त नवआगन्तुक युवाहरुलाई कक्षा सञ्चालन गर्दै उनीहरुलाई पत्तो नै नहुने तरिकाले नेटवर्किङ बिजनेस चलाउँदै आइरहेको थियो । कम्पनीको नाम हो ‘ग्लोबल ओरिन नेपाल प्राइभेट लिमिटेड’ । ‘कम्पनीको काम एउटा व्यापार अर्को छ’, सुजय भन्छन्– ‘मैले त पैसा डुब्यो भनेर माया नै मारेको थिएँ ।’ उनले कम्पनीमा १ लाख १५ हजार रुपियाँ लगानी गरेका थिए । लगानी गरेपश्चात् कम्पनीले भने अनुसारको न त उनले बोनस पाए न त तलब नै । काम गर्न थालेको करिब ८ महिना बितिसक्दा समेत उनले लगानी गरेबापत पाउने भनेको ५ हजार बोनस समेत अझै पाउन सकेका छैनन् । उनले अन्य दुई जनालाई समेत कम्पनीमा जोडेका थिए । नयाँवजारमा रहेको कार्यालय अहिले भने छैन । कार्यालय त्यहाँबाट उठिसकेको छ ।

उनी जस्तै ठगिने धेरै छन् । तर, डरले खुल्न भने चाहँदैनन् । यस्तै, रुमी मगर समेत कम्पनीबाट ठगिएकी छिन् । आर्थिक अवस्था कमजोर रहेको उनले ऋण गरेर कम्पनीमा १३ हजार रुपियाँ लगानी गरिन् । फाइदा हुने र जागिर पाउने आसले जोडिएकी उनले आफ्नो माध्यबाट सुमी तामाङलाई पनि कम्पनीमा ल्याइन् । सुमीले ३५ हजार रुपियाँ लगानी गरिन् । उनले पनि निशा नेपालीलाई ल्याइन् । निशाले १३ हजार रुपियाँ लगानी गरिन् । यसरी नै निशाले प्रकृति परियार र प्रकृतिले एलिशालाई कम्पनीमा जोडिन् । काम गरेको झण्डै १ वर्ष पुग्दा समेत तलब नपाएपछि ठगिएको भन्ने थाहा पाए । उनीहरुले कम्पनीमा सम्पर्क गर्न खोज्दा कम्पनी त्यहाँबाट भागिसकेको थियो ।

कम्पनीको पोखरा नयाँबजारका मुख्य व्यक्ति ईश्वर नेपाली र राजु नेपाली हुन् । उनीहरु नयाँबजार शाखाका हुन् अहिले उनीहरु सम्पर्कविहिन भएका छन् । पीडितमध्येका ५ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका छन् । उनीहरुले कम्पनीका सञ्चालक वसन्त पण्डितसहित ईश्वर नेपाली र विजय गुरुङविरुद्ध कास्की प्रहरीमा निवेदन दिएका छन् । प्रहरी स्रोतका अनुसार भने यो नेटवर्किङ बिजनेस नै देखिएको छ । जाहेरी दर्ता भएमा संलग्न रहेका व्यक्ति पक्राउ गर्न सकिने स्रोत बताउँछ ।
उता पोखरामा कम्पनीकै प्रतिनिधि रहेका विजय गुरुङले भने नयाँबजार कम्पनीको समन्वय र स्वीकृतमा नरहेको बताएका छन् । उनले आफूहरुमात्रै पोखरामा रहेको र नयाँबजार शाखाले कसरी काम गरिरहेको थाहा नभएको बताका छन् । यसमा आफूहरुले कसैलाई नठगेको उहाँको भनाइ छ । तर पनि गैरकानुनी रूपले कम्पनी चलिरहेको देखिएको छ । कम्पनी कानुनसम्वत् रूपमा चलेको १ वर्ष भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्