न्यायाधीश नहुँदा अदालतमा मुद्दाको चाप

एउटै न्यायाधीशको भागमा ४३ पेशी



काभ्रे ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दरबन्दीअनुसारका न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । कोरोना भाइरस, सर्वोच्च अदालत तथा जिल्ला अदालतमा कानुन व्यवसायीहरुको हड्ताल र न्यायाधीश सरुवाका कारण अदालतमा मुद्दाको चाङ लागेको हो ।

ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह भन्ने मान्यतालाई अदालतले आत्मासाथ गर्दै छिटो न्याय दिन न्यायाधीशकै कारण जिल्ला अदालत असमर्थ हुन थालेको छ । ‘साउनदेखि एक जना न्यायाशीश नभएका कारण मुद्दाको चाप बढेको छ’, स्रेस्तेदार उपसचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो– ‘अदालतमा दर्ता भएका मुद्दाको संख्याअनुसार जिल्ला अलालत काभ्रेपलाञ्चोकमा पाँच जना न्यायाशीश आवश्यक छ तर तीन जनाको दरबन्दीमा पनि एक जना न्यायाशीशको दरबन्दी साउन महिनादेखि खाली छ । त्यही कारण मुद्दाको चाप बढिरहेको हो ।’

सर्वोच्च अदालतले तत्कालीन जिल्ला न्यायाधीश सूर्यप्रसाद पराजुलीका स्थानमा मोहनराज भट्टराईलाई सरुवा गरेपछि पराजुली काजमा ललितपुर जानुभएको थियो । पराजुलीका स्थानमा नयाँ न्यायाधीश नपठाएका कारण अदालतमा मुद्दा प्रभावित बनेका हुन् । तीन जना न्यायाधीश दरबन्दी भएको जिल्लामा दुई जना न्यायाधीशले मात्रै मुद्दा हेर्दा सेवाग्राहीले समयमै न्याय पाउन कठिन भएको हो ।

‘बिहीबार एकैदिन एक जना न्यायाधीशलाई ४३ वटा मुद्दाको पेशी सूची थियो’, स्रेस्तेदार उपसचिव घिमिरेले भन्नुभयो– ‘अहिले अदालतमा १ हजार ४ सय ५७ वटा मुद्दा छन् । दुई वर्ष नाघेका १ सय ३४ वटा मुद्दा अझै फछ्र्यौट हुन सकेको छैन ।’ दुई वर्ष नाघिसक्दासमेत मुद्दाको फैसला नभएका कारण सेवाग्राही मर्कामा परेका छन् । अदालतमा दैनिक हुने पेशीमा समेत ती मुद्दाले प्राथमिकता पाउन सकेका छैनन् । कानुनतः एक जना न्यायाधीशले जिल्ला अदालतमा वार्षिक २ सय ५० वटा मुद्दा हेर्न पर्ने व्यवस्था छ ।

काभ्रेमा झण्डै एक जना न्यायाधीशले वार्षिक १ हजारजति मुद्दा हेर्नुपर्छ । सर्वोच्च अदालत आफैं संकटमा छ । सर्वोच्च अदालतले जिल्लाको समस्या सुल्झाउन पहल गरेको भए पनि सम्भव भएको छैन । न्यायाधीश सरुवा, बढुवा र नियुक्तिको कामसमेत त्यही आन्दोलनका कारण ठप्प भएको छ । सेवाग्राहीले कानुन व्यवसायीका आन्दोलनका कारण पनि समयमै न्याय पाउन सकेका छैनन् । दैनिक १२ बजेसम्म हुने आन्दोलन, कोभिडका कारण केही समय नियमित मुद्दाको सुनुवाइ स्थगित र न्यायाधीश अभावका कारण मुद्दाको चाप बढेको हो । तीनवटा इजलास रहेको काभ्रेमा दुईवटा सञ्चालनमा छन् भने तीन नम्बर इजलास बन्द छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा चालू आर्थिक वर्षमा १ हजार २ सय २२ थान मुद्दा जिम्मेवारी सरेको थियो । यो वर्ष ४ सय ५४ वटा मुद्दा फछ्र्यौट भएका छन् । चालू वर्षको पुस पहिलो सातासम्म जिल्लामा १ हजार ९ सय ११ थान मुद्दा थिए । अदालतमा डेड वर्ष कटेका ७९ थान, डेड वर्षसम्मका १ सय ९ थान, एक वर्षसम्मका २ सय २४, ६ महिनाभित्रका ३ सय ५४ थान मुद्दा फछ्र्यौट हुन बाँकी छन् । चालू वर्षको पुस पहिलो सातासम्म १ हजार ४ सय ५७ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको स्रेस्तेदार उपसचिव घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्