ताकम कोतमा आन्तरिक पर्यटकको चहलपहल



म्याग्दी ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमको ताकम कोत पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । ताकम र धारापानी गाउँको सिरानमा अवस्थित यस स्थानमा पछिल्लो समय आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण र रोजाइमा परेको ताकम कोत विभिन्न कार्यक्रम लिएर जानेहरु समेत पुग्ने गरेका छन् । यहाँ पुगेपछि म्याग्दीका लेकाली बस्तीको सौन्दर्य, मनोरम हिमशृङ्खलाहरुको दृश्यावलोकन तथा स्थानीयवासीको कला, संस्कृति र भेषभूषाको समेत अध्ययन गर्न पाइन्छ । ताकम कोत परिसरसम्मै पुग्ने सडक तथा पदमार्गको सहज पहुँच विस्तार भएपछि पर्यटकहरुको चहलपहल बढ्दै गएको हो ।

समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित ताकम कोत मनोरम दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ । नेपालमा चलेको बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन थापा राजाहरुले ताकम कोतबाट राज्य सञ्चालन गरेका थिए । पछि मल्ल राजाहरुले त्यहाँ आक्रमण गरेर जितेपछि ताकम राज्यलाई ऐतिहासिक पर्वत राज्यमा गाभिएको थियो । ताकम कोतमा तत्कालीन राजाको पालादेखिका पुरातात्विक महत्वका विभिन्न हातहतियारहरु सुरक्षित रहेका छन् ।

ताकम कोतमा बडादशैंमा नवदुर्गाको पूजापाठ गरेर पाठो, भेडा र राँगोको बलि दिने गरिन्छ । भाकल तथा बाख्राको पाठोलाई ओदानमा, भेडालाई आलमथान र राँगोलाई कुण्डमा बलि दिने परम्परा रहेको ताकमका स्थानीय युवा गोपाल आचार्यले बताउनुभयो । नवदुर्गामा राँगो, पाठो, भेडा, परेवा र फुर्सेसहित पञ्चबलि दिने गरिन्छ । धार्मिक दृष्टिकोणका हिसाबले पनि ताकम कोत महत्वपूर्ण मानिन्छ । ताकम कोत मन्दिरभित्र जगन्नाथ, अन्नपूर्ण, भगवती, नरसिंहका मूर्ति तथा छेला, खुडा, तरबारलगायत पुराना एवं इतिहास झल्काउने खालका हातहतियारहरु रहेको कोत मन्दिरका पुजारी दलबहादुर थापाले जानकारी दिनुभयो ।

ताकम कोत परिसरबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमाल, दशौं अग्लो चुचुरो अन्नपूर्ण तथा माछापुच्छ्रे नीलगिरि, मानापाथी, गुर्जा, चुरेनलगायत दर्जनौं हिमशृङ्खलाको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यसै गरी, यहाँबाट ताकमसहित मुनाको मालिका, मुदीको बगरा, मालिका गाउँपालिकाको देवीस्थान, देवीस्थानको मामा–भाञ्जा काटाकाट गरेको धुरीलगायत ग्रामीण बस्तीको सुन्दरतासहित डाँडाकाँडा देखिन्छन् । ताकम कोतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनका लागि आवश्यक पहल थालिएको स्थानीयवासीको भनाइ छ ।

आफैंमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक रहेको यस क्षेत्रको भ्रमण गर्न पाउँदा निकै रमाइलो लागेको आन्तरिक पर्यटक युक्तप्रसाद शर्माले अनुभव सुनाउनुभयो । धवलागिरि गाउँपालिकामा कार्यक्रम लिएर जाने विभिन्न संघ–संस्था तथा व्यक्ति पनि अहिले ताकम कोत परिसरको भ्रमण गर्न जाने गरेका छन् । पछिल्लोपटक यस परिसरमा आन्तरिकसँगै बाह्य पर्यटकहरुको पनि चहलपहल बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षण बढ्दै गएपछि मन्दिर, सत्तल, पदमार्गलगायत संरचनाहरु निर्माण गरिएको छ । ताकम घनावस्ती विस्तार कार्यक्रममार्फत पदमार्ग निर्माण तथा घनाबस्ती कार्यक्रम र ताकम कोत मन्दिरको कोषबाट मन्दिरसम्म सडकको पहुँच विस्तार भएको छ । अहिले पुरातत्व विभागको आर्थिक सहयोगमा उहाँ धार्मिक पर्यटकलाई लक्षित गरेर मन्दिर निर्माण थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्