कास्की ९८ रनले विजयी



पोखरा ।

पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पुरुष छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा कास्कीले स्याङ्जामाथि ९८ रनको फराकिलो जित हासिल गरेको छ । कास्कीले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा स्याङजाको पारी मात्रै ६५ रनमा समेटिएपछि कास्की विजयी भएको हो । पहिला ब्याटिङ गरेको कास्कीले पूरा ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६३ रनको योगफल तयार पारेको थियो ।

कास्कीको ब्याटिङमा अनिल गुरुङले ५२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे । त्यस्तै, कप्तान विपिन खत्रीले १ छक्का र १ चौका प्रहार गर्दै ३३ रन जोडे भने कृष्ण पौडेलले ३० रन बनाएका थिए । स्याङ्जाका बलरहरू टीकाराम गैह्रेले ३ तथा ईश्वर खनालले २ विकेट लिए ।

स्याङ्जाको ब्याटिङ लाइनअप चल्न नसकेपछि उसको पारी धर्मराएको थियो । मात्रै २०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुगेको स्याङजाको लागि सन्दीप खत्रीले १२ तथा सुरज गुरुङले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो आँकडाको योगफल समेत तयार पार्न सकेनन् । स्याङजाको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कास्कीका बलरहरू कृष्ण पौडेल, विश्व कार्की, सुवास भण्डारी र विपिन खत्रीले २–२ विकेट लिए । खेलमा कास्कीका कृष्ण पौडेल ‘म्यान अफ द म्याच’ भए । उनलाई नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतमले ट्रफी प्रदान गरे । छनोट प्रतियोगिताको अन्तिम खेल मंगलबार कास्की र नवलपुरबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्