टेनिसमा कमल थापाको दोहोरो जित



पोखरा, (नेस) ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकै दिन दोहोरो जित निकालेका छन् । थापाले ५५ वर्ष माथिको सिंगल र डबल्स दुवै इभेन्टमा जित हासिल गरेका हुन् । सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङमाथि ६–४, ६–० को सहज जित निकाले ।

सोही उमेर समूहको डबल्समा थापा र झ्याम्पा ढुण्डुप जोडीले विदुर विष्ट र काजी गुरुङको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरेका थिए । प्रतियोगिताअन्तर्गत सोमबार भएका अन्य खेलहरूमा मेन्स ओपनतर्फ नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी प्ररण खनालले प्राञ्जल कायस्थलाई ६–१, ६–२ ले, विष्णु नेपालीले गौरव प्रताप शाहलाई ६–१, ६–३ ले, नेहार जंगबहादुर थापाले प्रमोद बहादुर थापालाई ६–०, ६–० ले, मनोज महर्जनले निशान्त श्रेष्ठलाई ६–०, ६–० ले, अक्कि जुवेन रावतले सौगात विकलाई ६–०, ७–६ ले तथा गोविन्द नेपालीले विवेक मगरलाई ६–०, ६–२ ले हराए ।

त्यस्तै, उमन्स सिंगलतर्फ सलोनी तामाङले रायना शाहलाई ६–४, ६–३ ले, शर्भानी श्रेष्ठले प्रकृति श्रेष्ठलाई ६–२ ६–० ले, भगवती विकले श्रेया भट्टराईलाई ६–३, ६–३ ले तथा गंगा शर्माले सुभांगी लक्ष्मी शाहलाई ६–१, ६–३ ले पराजित गरिन् ।

३५ वर्ष माथिको पुरुष एकलतर्फ सन्तोष खत्रीले कमल भण्डारीलाई ३–६, ६–३ र सुपरटाईमा १०–६ ले, दावा शेर्पाले विकास गुरुङलाई ६–०, ६–१ ले, सञ्जय कुमार श्रेष्ठले प्रकाशराज वाग्लेलाई ६–४, ६–१ ले, भीष्म गुरुङले सबर मियालाई ६–०, ६–० ले, नवीन श्रेष्ठले सोम मगरलाई ७–६, ६–२ ले, निरज थापाले मदन थापालाई ६–१, ६–१ ले, सीमान्त गुरुङले लक्ष्मण तामाङलाई ६–७, ६–३ र सुपरटाईमा १०–१ को जित निकाले ।

प्रतिक्रिया दिनुहोस्