तमुहरू रक्सी खाँदै खेल्छन् : गुरुङ



पोखरा ।

गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजिव गुरुङले परम्परागत तारा खेल मैदानको शिलान्यास गर्नुभएको छ । पोखरा ९ नयाँ बजारमा रहेको तमुधीं नेपालको केन्द्रीय कार्यालय परिसरमा मैदान निमार्ण गर्न लागिएको हो । जसका लागि युवा तथा खेलकुद मन्त्रालयले पहिलो किस्तास्वरूप तीन लाख प्रदान गरेको छ ।

शिलान्यास कार्यक्रममा स्वास्थ्यका कारण देखाउँदै मन्तव्य नदिनुभएको खेलकुद मन्त्री गुरुङले शिलान्यास गरेलगत्तै त्यहाँ रहेका अतिथिहरूलाई अबका साढे २ महिनामा प्रतियोगिताको आयोजना गर्न आग्रह गर्दै तमुहरूले रक्सी खाँदै खेल्ने खेल रहेको प्रतिक्रिया दिएका थिए । उक्त कुरा सुनेपछि त्यहाँ रहेका अन्य अतिथिहरू समेत गललल्ल हाँस्नुभएको थियो ।

‘यो त्यही बाँसको धनुष बनाएर खेल्ने हो नि होइन ? भन्दै प्रश्न गर्दा हो भनेपछि उहाँले ‘त्यसो भए म मनाङ र मुस्ताङबाट खेल सामग्री मगाइदिन्छु । अबको साढे २ महिनापछि तपाईंहरू प्रतियोगिता राख्नुस’ उहाँले थप्नुभयो,‘ छन्त्यालहरू कस्तो मज्जाले खेल्छन् । हाम्रोचाहिँ रक्सी खाँदै खेल्छन् । अनि कहाँबाट राम्रो खेलाडी निस्किन्छन्’ त्यसपश्चात् मन्तव्यको कार्यक्रम शुरु भएको थियो । उक्त समय आफू नबोली गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङलाई नै बोल्ने जिम्मा दिनुभएको थियो । ध्वजकुमार गुरुङले प्रदेश खेलकुद मन्त्रालयबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले नेपालको परम्परागत पुरानो खेल भए पनि पछिल्लो समय युवा वर्गको आकर्षणको खेल भएको बताउनुभयो । तारो हान्ने खेल अहिले मेला महोत्सवमा समेत खेलिँदै आएको बताउनुभयो । ‘पुरानो खेल हो संरक्षण गर्नुपर्छ यसका लागि माननीय ज्युले बजेटसमेत सम्बोधन गर्नुभएको छ ।’ उहाँले भन्नुभयो ।

सोही क्रममा बोल्दै तमुधीं नेपालका केन्द्रीय अध्यक्ष होम बहादुर गुरुङले तमुको परम्परागत खेल भएको बताउनुभयो । उहाँले भवन बनाउँदा अघिल्लो सरकारले विनियोजन गरेको रकमको आधा रकम पाउन बाकीँ रहँदा कर्मचारीले निकै दुःख दिएको बताउनुभयो । ‘अघिल्लो सरकारको अर्थमन्त्री किरण गुरुङ ज्यूले भवन निमार्णका लागि ९५ लाख छुट्याइदिनुभएको थियो’ उहाँले भन्नुभयो– ‘पहिलो किस्तास्वरूप हामीले ४५ लाख रुपियाँ पायौँ अब ५० लाख पाउन बाकिँ छ ।’

प्रतिक्रिया दिनुहोस्