२६ वर्ष बित्दा पनि बनेन झुम्सा खानेपानी आयोजना



बुटवल ।

बुटवलको मेलम्चीको आयोजनाको रूपमा रहेको झम्सा खानेपानी आयोजना निर्माण शुरू भएको साडे दुई दशक बितिसक्दासमेत अझै सम्पन्न हुन सकेको छैन । विसं २०५२ सालदेखि शुरू गरिएको झुम्सा खानेपानी आयोजना निर्माणलाई गति दिने भन्दै पटक पटक उद्घाटन गरियो तर अहिलेसम्म बुटवलबासीले खानेपानी पाउन सकेका छैनन् । आर्थिक वर्ष २०५२/०५३ सालमा पाल्पाको सिस्ने खोलाको पानी बुटवल ल्याउन झुम्सा खानेपानी आयोजना शुरू भएको थियो ।

बुटवलमा क्रियाशील विभिन्न १७ वटा संघ संस्थाहरूले आयोजनालाई छिटोभन्दा छिटो सञ्चालन गरी सम्पन्न गर्न खानेपानीको कार्यालयमै गएर दबाब दिएका हुन् झुम्सा आयोजनाबाट पानी ल्याउन नेताहरूले दर्जनौँ पटक जनतासामु प्रतिबद्धता पनि जनाए तर प्रतिबद्धता भाषणमै सीमित भएको नुवाकोटा विकास समिति अध्यक्ष माधव नेपालले बताउनुभयो ।

आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले पनि माग गर्नुभएको छ । खानेपानी आयोजनाले आयोजना निर्माणमा धेरै समस्याहरू रहेको खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बताउनुभयो ।

उहाँले पछिल्लो समय ड्याम निर्माणको काम सकिएको र केही स्थानमा पाइपहरू विस्तारको काम पनि भएको बताउनुभयो । यदि आवश्यक बजेट र अन्य निकायको सकारात्मक सहयोग रहेमा नयाँ आर्थिक वर्षसम्ममा बुटवलमा पनि ल्याउने र त्यसपछि बल्ल वितरणको काम हुने प्रमुख भट्टले बताउनुभयो । नगरबासीले दुई दशकदेखि हिउँदभर धारामा पानी नआउने र बर्खामा धमिलो पानी खानुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्