प्रदेशसभासँगै स्थानीय तहको निर्वाचन सुरक्षाबारे छलफल



काठमाडौं, (नेस) ।

गृह मन्त्रालयले स्थानीय तह निर्वाचनका लागि सुरक्षा र त्यसका लागि आवश्यक पर्ने साधनस्रोतको आँकलन तथा व्यवस्थापनबारे सरोकारवाला निकायसँग छलफल गरेको छ । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षा सरोकार र आवश्यक पर्ने साधनस्रोतबारे छलफल भएको जानकारी दिनुभएको छ ।

बैठकमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन एकैपटक गर्ने कि दुईपटक गरेर गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । १२ माघमा हुन गइरहेको राष्ट्रियसभाको १९ पदको निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे सुरक्षा समितिको बैठकमा छलफल गर्नुभएको भोलिपल्टै गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचनबारे पनि सरोकारवाला मन्त्रालयसँग छलफल गर्नुभएको हो ।

छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थ सचिव मधु मरासिनी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव सुरेश अधिकारी, परराष्ट्रसचिव भरत शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, गृहको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख मुकुन्द प्रसाद निरौला, प्रवक्ता प्रदीपकुमार कोइराला र नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसाललगायतको उपस्थिति थियो ।

बैठकमा गृहमन्त्री खाँण र सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा मतदाता र मत पेटिकाको सुरक्षाबारे धारणा राखेका थिए । अर्थसचिव मरासिनीले निर्वाचनका लागि आवश्यक पर्ने बजेट र सरकारसँग रहेको बजेटबारे बैठकलाई जानकारी गराउनुभएको थियो । संघीय मामिलामन्त्री श्रेष्ठ र सचिव अधिकारीले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी र मन्त्रालयका तर्फबाट उपलब्ध गराउन सकिने कर्मचारी संख्याका बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्