दुई देशको एउटै आँगन घोडदौडिया



बाँके ।

गाउँको नाम हो, घोडदौडिया । यो गाउँमा नेपाल र भारतका बासिन्दा मिलेर बस्छन् । एकअर्कालाई सहयोग गर्छन् । बिहेवारी, मर्दापर्दा जुट्छन् । सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । हो, बाँकेको नरैनापुरको घोडदौडिया गाउँ र भारतीय घोडदौडिया गाउँ एकै ठाउँमा छ, दशगजाको वारि र पारि । यो गाउँमा पुग्दा नेपाल र भारत छुट्याउन गाह्रो पर्छ । दुवैतिरका उस्तै घर छन् । बसोबास उस्तै छ ।

घोडदौडियामा दशगजा आँगनको रूपमा रहेको छ । बीचमा पिलर त देखिन्छ, दशगजालाई दुवै देशका बासिन्दाले आँगनका रूपमा प्रयोग गर्छन् । मान्छेको मनमा मात्रै नेपाल र भारत देश छ । हामी नेपाली, हामी भारतीय भन्ने भावना छ । द्वैष, तुष, झैझगडा केही छैन । उता र यता बिहेवारी चलेको छ । उता बिहे हुँदा यताकालाई निम्ता आउँछ, यता बिहेवारी हुँदा उताकालाई निम्ता जान्छ । दुवैतिरबाट आउने–जाने हुन्छ । कोही बित्दा सँगै मलामी जान्छन् । जन्मिँदा हुने खुशीयालीमा रमाउँछन् ।

स्थानीय इस्लाम साईले भन्नुभयो– ‘देश नेपाल र भारत भन्ने छ । देखिहाल्नुभयो हामीले दशगजालाई आँगनका रूपमा प्रयोग गरिरहेका छौं । दुवै देशको गाउँको नाम घोडदौडिया हो । हामी मिलेर बसेका छौं । चाडबाड, मर्दापर्दा सहयोग आदान–प्रदान हुन्छ । बिहेवारी यता र उता हुन्छ ।’

इस्लामको छोराले भारतीय गाउँ जमुनाहाबाट विवाह गरेका छन् । छोरीको खावा भन्ने ठाउँमा विवाह भएको छ । यी भारतीय गाउँ अलिकति टाढा पर्छन् । इस्लामका अनुसार, घोडदौडियामा पनि यता र उताको बिहेवारी भइरहेको हुन्छ । बरेठा धोबीले आँगनमा एक हल पिलरसँगै गोरु बाँधेका छन् । देशको वा एकअर्का गाउँको मनमुटाव हुँदो हो त यसरी दशगजालाई आँगनका रूपमा प्रयोग हुँदैनथ्यो । स्थानीय ढुन्डुराम चमारले आफूहरू एउटै देशको बासिन्दा जसरी मिलेर बसेको बताउनुभयो । ‘हामीमा कुनै समस्या छैन । मिलेर बसेका छौं’ –चमारले भन्नुभयो ।

देशका विभिन्न ठाउँमा सीमा विवाद छन् । नेपाल र भारतका बासिन्दाका बीचमा टकराव छन् । बाँकेको घोडदौडियामा दुवै देशका बासिन्दाको सौहार्दता देखिन्छ । मधेस आन्दोलनमा समेत घोडदौडियामा कुनै समस्या नआएको स्थानीय बताउँछन् । जबकि, बाँकेकै जमुनाहा नाकामा भारततिरबाट ढुंगा हान्ने काम भयो । दुई देशका बासिन्दाका बीचमा मनमुटाव सिर्जना गर्ने प्रयासहरू भए । इस्लाम सम्झिनुहुन्छ– ‘मधेस आन्दोलनका बेलामा समेत घोडदौडियामा कुनै समस्या भएन । सामानहरू लिन जाँदा अलिअलि सोधपुछ भयो ।’

घोडदौडियामा सशस्त्र प्रहरीको उपस्थिति छ । पारिपट्टि भारतीय सीमा सुरक्षा बल (एसएसबी) बस्छ । यो गाउँमा अहिलेसम्म कुनै झैझगडा भएको उजुरबाजुर भएको छैन । इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका इन्चार्ज वसन्त गौतमले घोडदौडियामा नेपाल र भारतका बासिन्दाका बीचमा झगडा भएको भन्ने उजुरी नआएको बताउनुभयो ।

यो अनौठो अनि सुन्दर गाउँमा पुग्दा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री पनि अचम्मित हुनुभयो । उहाँले त्यहाँका बासिन्दालाई समस्या भए नभएको सोधपुछ गर्नुभयो । दशगजा नै आँगन र गाउँको नाम एउटै राखेका घोडदौडियाको बासिन्दामा कुनै समस्या देखिएन । सबैले मेलमिलाप र भाइचाराकै व्यवहार रहेको प्रस्ट पारे ।

बाँकेको ६५ किलोमिटर दक्षिणी सीमामा पर्छ । घोडदौडियामा जस्तै नाम र दशगजा नै आँगन भएको ठाउँ छैन । यद्यपि, सीमावर्ती बासिन्दाका बीचमा कुनै समस्या छैन । कटकुइयादेखि पश्चिम मानखोलासम्मको भूभाग भारतसँग जोडिएको छ । सीमा विवाद नभएकाले अरू विवाद नदेखिएको जानकारहरू बताउँछन् । यद्यपि, ठाउँ–ठाउँका पिलर हराएका छन् । जीर्ण भएका छन् । त्यसको व्यवस्थापन गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्