धुलिखेलमा ‘उजाड’ सुन्तला बगैंचा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

धुलिखेल नगरपालिका वडा नम्बर १० र १२ का ६ सय १३ घर परिवारको प्रमुख आय श्रोत रहेको सुन्तला उत्पादन केही वर्ष देखि हुन छाडेको छ । धुलिखेलकै अन्य वडा तथा जिल्लाका विभिन्न स्थानमा व्यवसायी रूपमा गरिएको सुन्तला खेती धरमराएको छ ।

धुलिखेल नगरपालिका वडा नम्बर १० शारदा बतासेमा २ सय ५ जना कृषकले सुन्तलाको व्यवसायी खेती गरेका थिए भने वडा नम्बर १२ शंखुमा ४ सय ८ जना कृषकको बारीमा सुन्तला खेती थियो । २०७२ सालको भूकम्प पछि कम फल्न थालेको सुन्तला गत वर्ष देखि शून्यमा परिणत हुन थालेको कृषक प्रधुम्न लामिछानेले बताउनु भयो । ‘हरेक वर्ष वार्षिक २ लाख रुपैयाँसम्म सुन्तलाबाट आम्दानी हुने गरेको थियो’–कृषक प्रधुम्न लामिछानेले भन्नुभयो–‘२०७२ सालबाट उत्पादन कम हुँदै गएको सुन्तला गत वर्ष देखि शून्य जस्तै भयो ।

’ प्रधुम्न जस्तै २ सय वोट सुन्तलाबाट वार्षिक आम्दानी गर्ने राजनप्रसाद लामिछानेको पीडा पनि उस्तै छ । बारीमा भएका सुन्तलाका रुख काट्न पनि डर छ, फल्ने आश पनि छैन । ‘एकै पटक काट्दा दाउरा पनि नहुने भयो, बिस्तारै काट्दै नयाँ लगाउँदै जान थालेका छौँ’–राजन लामिछानेले भन्नुभयो–‘सुन्तलाको बिरुवा किन म-यो जानकारी पाउन सकेनौँ ।’ राजन लामिछानेको बगैँचामा २०३८ सालमा लगाएका रुखहरू पनि छन् । शंखु र शारदा बतासेमा मात्रै वार्षिक १० करोड भन्दा धेरैको सुन्तला विक्री हुँदै आएको थियो । केही वर्ष देखि सुन्तलाको उत्पादन हुन नसक्दा स्थानीयहरूको प्रमुख श्रोत गुम्न पुगेको कृषक पुरुषोत्तम लामिछानेले बताउनु भयो ।

उक्त क्षेत्रमा सुन्तला मात्रै नभई अमिलो जातका ज्यामिर, जुनार, चाक्सी, निबुवा लगायतका सबै बिरुवाहरू धमाधम सुक्न थालेका छन् । हिउँदमा पहेँलो देखिने बगैँचा उजाड बन्न पुगेको कृषक राधाकृष्ण फैजुले बताउनु भयो । औषधी, गोडमेल नभएका कारण भूकम्प पछि चाहे जस्तो स्याहार गर्न नसकेकै कारण सुन्तलाको बिरुवा सुकेको हुन सक्ने स्थानीय कृषक पुरुषोत्तम लामिछानेले बताउनु भयो । प्राविधिकहरूले पनि भूकम्प पछि जमिन हल्लँदा सुन्तलाको जरा समेत हल्लिएकाले बिरुवाहरू सुक्न थालेको बताएको कृषक राजन लामिछानेले बताउनु भयो ।

धुलिखेल नगरपालिकाले कृषकहरूको गुनासो आए लगत्तै केही वर्ष अघि सुन्तलाको बिरुवाको तथ्याङ्क र अवस्थाका बारेमा अनुसन्धान गरेको छ । राष्ट्रिय सुन्तला जाच अनुसन्धान कार्यक्रम अन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद्का डा.उमेशकुमार आचार्यको टोलीले सुन्तलाको बोट र माटोको अध्ययन अनुसन्धान गरेको थियो । २४ वटा सुन्तला बिरुवाको जातीय परीक्षण गरेको उक्त टोलीले शंखु र शारदा बतासेमा सुन्तलाका बिरुवाहरू सुक्दै जानुमा खाद्य तत्त्व कम भएको निष्कर्ष निकालेको थियो । ‘एक वर्ष देखि दश वर्ष अवधि माथिका सुन्तलाका बिरुवाहरूमा आवश्यक पर्ने खाद्य तत्त्वको प्रतिवेदन अध्ययन गरी नगरपालिकालाई उपलब्ध गराएको थियो’–धुलिखेल नगरपालिका कृषि शाखा प्रमुख मन्दिलकृष्ण श्रेष्ठले भन्नुभयो–‘कृषकहरूले प्रतिवेदनमा उल्लेख भए अनुसारको खाद्य तत्त्व अपुग भएको जानकारी गराउँदा समेत वास्ता गर्नु भएन । बरु उल्टै सुन्तलाको बगैँचा भित्र लहरे बाली लगाउँदै ट्याक्टर जोत्न थाल्नु भयो । जसका कारण जरा खलबलिने र अन्य जातका तरकारी बालीले सुन्तलाको बोटमा किरा लागेर मर्न थालेको छ ।’

प्राविधिक मन्दिलकृष्ण श्रेष्ठका अनुसार सुन्तला बगैँचा भित्र कोसे बाली बाहेक अन्य खेती गर्नु हुँदैन । कोसे बालीमा केराउ, भटमास जस्ता कोसे बाली लगाउँदा हुने भए पनि अदुवा, मकै, सिमी, बोडी, आलु लगाउँदा सुन्तलाको बिरुवालाई क्षति पुग्ने श्रेष्ठले बताउनु भयो । ‘मकै, आलु, अदुवा जस्ता खेती सुन्तलाको बगैँचा भित्र लगाउन मिल्दैन’–प्राविधिक अधिकृत मन्दिलकृष्ण श्रेष्ठले भन्नुभयो–‘खेती गर्दा बगैँचा भित्र ट्याक्टर लगाउन थाले पछि जरा र रुख दुबैमा क्षति पुग्न गई सुन्तलाको बगैँचा नष्ट हुन थाल्यो ।’ सुन्तलाको एक वर्षको बोटलाई १० केजी प्राङ्गारिक मल, ८८ ग्राम युरिया मल, ५२ ग्राम डिएसपी मल, ५८ ग्राम पोटास मल हरेक वर्षको दुई पटक आवश्यक पर्छ । सुन्तलाको बोटको उमेर अनुसार खाद्य तत्त्व फरक फरक हिसाबले उपलब्ध गराउनु पर्ने भए पनि कृषकहरूले त्यसो नगरेका कारण सुन्तला बगैँचा उजाड बन्दै गएको मन्दिलकृष्ण श्रेष्ठले बताउनु भयो । नगरपालिकाले माटो परीक्षण, तालिम तथा सचेतनामूलक अभियान सञ्चालन गरेको भए पनि कृषकहरू सन्तुष्ट छैनन् ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले शंखु, शारदा बतासे क्षेत्रको सुन्तलामा देखिएको समस्याको समाधानका लागि पहिचान गरी अनुसन्धान गरिएको बताउनु भयो । सुन्तलालाई आवश्यक पर्ने खाद्य तत्त्वको अभाव देखिएकाले कृषकहरूलाई सचेत गराउने, नयाँ बिरुवा थप्दै पुराना बिरुवालाई विस्थापन गर्ने अभियान सञ्चालन गर्ने र त्यसका लागि नगरपालिकाको कृषि शाखाबाट आवश्यक कार्य भइरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । जिल्लाका अन्य क्षेत्रमा पनि एकै खालको समस्या भएकाले कृषि ज्ञान केन्द्र मार्फत सुन्तला बगैँचा जोगाउने अभियान सञ्चालन गर्न स्थानीय कृषकहरूले अनुरोध गरेका छन् ।