जनगणनामा रौनियार जातिलाई सूचीकृत गरिदिन माग



काठमाडौं, (नेस) ।

केन्द्रीय तथ्याङ्क विभागले यो वर्ष सम्पन्न गरेको १२औं राष्ट्रिय जनगणनामा रौनियार जातिलाई सूचीकृत गराउने माग राख्दै नेपाल रौनियार महासंघले केन्द्रीय तथ्यांक विभागको ध्यानाकर्षण गराएको छ ।

महासंघका केन्द्रीय महासचिव श्रवण कुमार रौनियारको नेतृत्वको टोलीले आइतबार विभागका महानिर्देशक नेबिलकुमार श्रेष्ठसमक्ष रौनियारलाई सूचीकृत सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

महासचिव श्रवण रौनियारले परापूर्व कालदेखि नै देशभरि करिब तीन लाखको हाराहारीमा रहेको रौनियार जातिलाई राष्ट्रिय जनगणनामा कहिल्यै सूचीकृत नगरेको अवगत गराउँदै यसपटक सूचीकृत गर्न माग गर्नुभएको थियो ।

उहाँले यसपटक घरघरमा जनगणना गर्न आउने गणकहरूले रौनियार जातिलाई अन्य जातिमा समावेश गर्ने भएकोले पनि अन्योल उत्पन्न भएको जिकिर गर्दै भन्नुभयो– ‘देशभरि उल्लेख्य संख्यामा रौनियार जातको परापूर्वकालदेखि नै बसोबास छ । सबैले आ–आफनो व्यवसाय वा अन्य पेसाको माध्यमले देशको राजश्वमा योगदान दिँदै आएका छन् । जनगणनामा यो जातको छुट्टै जनगणना हुनुपर्छ ।’

उहाँले ११ औं राष्ट्रिय जनगणनालाई नै आधार मान्ने हो भने पनि रौनियार जातिको नेपालमा १ सय १० वर्ष लामो इतिहास रहेको दाबी गर्नुभयो । संविधानले समेत रौनियार जातिलाई पिछडा वर्गमा उल्लेख गरेको भन्दै उहाँले भन्नुभयो– ‘देशमा यति बाक्लो उपस्थिति रहेको रौनियार जातिको सूचीमा उल्लेख नहुनुले हामीलाई आफ्नो पहिचान तथा अवसर दुवैबाट वञ्चित पारिएका छ ।’

ज्ञापनपत्र बुझ्दै महानिर्देशक श्रेष्ठले संविधानले नै सबै जातजातिको पहिचानको नैसर्गिक अधिकार सुनिश्चित गरेको बताउँदै यसपटकको जनगणनामा प्राप्त तथ्यांकअनुसार कुनै पनि जातजातिलाई सूचीकृत हुनबाट वञ्चित नपारिने आश्वासन दिनुभयो । गणनाका समयमा कतिपय जातजातिहरूले आफनो जातलाई नै थरभित्र उल्लेख गरिदिने पाइएकोले अलि समस्या उत्पन्न भएको बताउँदै उहाँले भन्नुभयो– ‘यसपटक थुप्रै जातजातिहरूले सचेत हुँदै सक्रियता जनाएर जातजाति सूचीकृत गरिदिन माग राख्नुभएको छ । तथ्यांक इन्ट्री गर्दा जनगणना फारममा उल्लेख भएको जातजातिलाई विभागले कोडिङ गर्ने समयमा प्राप्त तथ्यांकअनुसार जात जातिहरूको कोडिङ अनिवार्य गरिने छ ।’

उहाँले विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म १ सय २७ जातजाति मात्र उल्लेख रहेको भए पनि यसपटक बढ्ने देखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्