काभ्रे ।
जिल्लाको विकट क्षेत्र कोसीपारि भुम्लु गाउँपालिका–६ कोलाँतीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । गरिब, असहाय तथा स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
रोटरी क्लब त्रिपुरेश्वर र रोटरी क्लब हेल्थ एन्ड प्रोफेसनलको संयुक्त आयोजना र समाजसेवी ताराबहादुर कुँवरको संयोजनमा भुम्लुको कोलाँतीमा शिविर आयोजना गरिएको हो ।
‘गाउँबाट सहरसम्म स्वास्थ्यमा पहुँच नभएका नागरिकलाई सबै प्रकारका सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो’, समाजसेवी ताराबहादुर कुँवरले भन्नुभयो– ‘विगत वर्षमा हजुरलाई नमस्ते परोपकारी संस्थाबाट आयोजना गरिएको शिविर यो वर्ष रोटरीको अगुवाइमा आयोजना गरी नागरिकलाई सेवा प्रदान गरेका हौं ।’ शिविरमा स्थानीय ५ सय नागरिकले सेवा लिएका छन् ।
शिविरमा सामान्य परीक्षणका अलावा हाड जोर्नी, छाती तथा फोक्सो, स्त्री रोग, फिजियोथेरापी, श्वासप्रश्वास र भिडियो एक्स–रेसहितको सुविधा उपलब्ध गराइएको थियो । परीक्षणपछि आवश्यक पर्ने सेवाग्राहीलाई निःशुल्क औषधी उपलब्ध गराइएको थियो भने गम्भीर प्रकृतिका अस्पतालमै उपचार गराउनुपर्ने नागरिकका लागि काठमाडौंमा रहेको नेसनल अस्पताल कलंकी र स्पार्क होम कालिमाटीमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाइएको छ ।
गाउँमा नै विशेषज्ञ सेवा प्राप्त भएपछि सर्वसाधारणहरू खुसी भएका थिए । शिविरका लागि स्थानीय सरकार भुम्लु गाउँपालिका–६ का अध्यक्ष भरत शिवभक्ती, स्थानीय विभिन्न क्षेत्रका व्यक्तिहरूले सहयोग गरेका थिए । शिविरमा समाजसेवी ताराबहादुर कुँवर, रोटरी क्लबका निवर्तमान अध्यक्ष भुवन श्रेष्ठ, अध्यक्ष डा. प्रकाश पौड्याललगायतको सहभागिता रहेको थियो ।
समाजसेवी कुँवरले भुम्लुका सबै वडामा महिनाको एकपटक निःशुल्क शिविर सञ्चालनका लागि तयारी गरिएको बताउनुभयो । गत वर्ष पनि निःशुल्क शिविरको आयोजना गरी नागरिकहरूलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन समाजसेवी कुँवरले विशेष भूमिका खेल्नुभएको थियो ।











प्रतिक्रिया