बचतकर्ता आकर्षक ब्याजदरको लोभमा मात्र फस्नु हुँदैन


भक्तपुर ।

मध्यपुर थिमि–८ बोडेस्थित अष्टमंगल बचत तथा ऋण सहकारी संस्थाले नवौँ साधारण सभा सम्पन्न गरेको छ ।साधारणसभाको उद्घाटन गर्दै मेघा बैंकका निर्देशक डा. इन्द्रबहादुर मल्लले बैंक र सहकारी एक अर्काका परिपूरक भएको बताउनुभयो । निर्देशक मल्लले बचत गर्ने बानीलाई संस्थागत गर्न सके मात्र प्रतिफल पाउने बताउनुभयो ।

उहाँले बितिय भाषामा घरमै थन्किएको बचत र बिस्तारामुनी राखिएको बचतलाई बचत भन्न नमिल्ने बताउँदै त्यसले अर्थ पनि नदिने उल्लेख गर्नुभयो ।उच्च आकांक्षा राख्दा सहकारीमा समस्या आउने गरेकोले सहकारीका सदस्यको सल्लाहमा सहकारीको मर्म अनुसार सहकारी संचालन गर्नुपर्ने बताउनुभयो ।दुई अर्बको चुक्ता पुँजीबाट सुरु गरिएको मेघा बैंक हाल १६ अर्बको चुक्ता पुँजीका साथ सञ्चालन भइरहेको जानकारी दिँदै मल्लले मेघा बैंकमा हाल दुई लाख ५० हजार भन्दा बढी सर्वसाधारणको शेयर लगानी रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले सहकारीका नाममा विकृति भित्रिएकाले निक्षेपकर्ता चनाखो हुनुपर्ने बताउनुभयो । सहकारी भन्ने बित्तिकै स्थानीय टोलवासी, दाजुभाइ वा चिनजानका समाजका प्रतिष्ठित व्यक्तित्वहरू सञ्चालक भए मात्र विश्वासिलो हुने बताउँदै प्रजापतिले ठुला ठुला नारा र आकर्षक ब्याजदरको नाममा लोभमा फस्न नहुने सुझाव दिनुभयो ।मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार राईले सहकारी भनेको समुदायमा आधारित संस्था भएकाले सबै सदस्यहरूको समान र उत्तिकै जिम्मेवारी रहने बताउनुभयो । उहाँले संस्थाप्रति सञ्चालक समिति मात्र नभई साधारण सदस्यहरू पनि बफादार बने मात्र संस्थाले उन्नति प्रगति गर्न सक्षम हुने बताउनुभयो ।

साधारणसभाका अवसरमा अष्टमंगलले शेयर सदस्यहरूलाई आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गरेको संस्थाका अध्यक्ष दिलकृष्ण प्रजापतिले बताउनुभयो ।सहकारीका उपाध्यक्ष जुजुभाई बास श्रेष्ठले स्वागत मन्तव्य राख्दै अनिश्चित भविष्यलाई सुनिश्चित गर्न बचत गर्ने बानी बसाल्नु पर्ने बताउनुभयो सो अवसरमा संस्थाले संस्थाका ज्येष्ठ सदस्य ८१ वर्षीय रत्नहरि चाँसी श्रेष्ठलाई नगद दुई हजारसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो भने सहकारी स्थापनाका सहयात्री सहपाठी नेत्र विशेषज्ञ डा. रश्मी श्रेष्ठलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

बोडे माविको एसएलसी व्याच २०५५ का विद्यार्थीहरुको ४० जनाको समूहले सहकारीको सुरु गरेको थियो ।उक्त संस्थाले यसअघि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता र जिवन्तता दिन योगदान गर्ने जुजुभाई बास श्रेष्ठ, बुद्धकृष्ण बाग श्रेष्ठ, बोडेका स्थानीय सांस्कृतिक गुरुलगायतलाई सम्मान गरिसकेको संस्थाका सचिव कन्चन मान सिपाईले बताउनुभयो ।

संस्थाले गत आर्थिक वर्ष २०७७-०७८ मा ६ लाख २८ हजार ४३३ रुपैंयाँ खुद नाफा आर्जन गरेको जानकारी दिँदै संस्थाका अध्यक्ष दिलकृष्ण प्रजापतिले सहकारी क्षेत्र वित्तीय प्रतिवेदन ढाँचा २०७६ अनुरूप आर्थिक विवरण बनाउनु पर्ने भएकाले सो अनुरूप विभिन्न ५ शीर्षकमा ३० प्रतिशत थप कोषमा छुटाउनु परेको बताउनुभयो ।

संस्थाले गत आर्थिक वर्ष १७ लाख ३२ हजार ८७५ रुपैंयाँ व्याज आम्दानी गरेको जानकारी दिँदै संस्थाका कोषाध्यक्ष श्याम सुन्दर चक्रधरले कोभिड–१९ का कारणले गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारणले जनजीवन तथा सबै व्यवसायहरू प्रभावित भएकाले त्यसको असर सहकारीको वित्तीय कारोबारमा पनि देखिएको बताउनुभयो ।