मिडिया मैत्री विधेयक बनाउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री पोखरेल



खुशीमाया गुरुङ, लमजुङ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार मिडिया मात्रै विधेयक बनाउन प्रतिबद्धता रहेको बताउनुभएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा लमजुङको भवन शिलान्याश समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

उदघाटन मन्तव्यमा उहाँले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्कामा पर्याय र पूरक भएको समेत बताउनुभयो । लोकतन्त्रमा प्रमुख विपक्षी दल र प्रेसको ठुलो महत्त्व रहन्छ, यसले पारदर्शिता र सुशासनमा समेत अहम् भूमिका निभाउने हुन्छ त्यसैले संविधानको प्रस्तावनामै स्वतन्त्रता मात्र हैन ‘पूर्ण स्वतन्त्रता’ भन्ने उल्लेख गरिएको उहाँले स्मरण गराउनुभयो । उहाँले प्रदेशको आउँदो हिउँदे अधिवेशन जसलाई विधान अधिवेशन पनि भनिन्छ त्यसमा संसद्मा दर्ता रहेको मौजुदा मिडिया विधेयकमा आवश्यक फेरबदल हुन्छ र संविधानको भावना र मर्म अनुरूपकै विधेयक आउँछ, यसका शङ्का नगर्न आग्रह गर्दछु ।

मिडियाको काम सरकारलाई खबरदारी गर्ने, कमीकमजोरी औँल्याउने हो भन्दै प्रदेश सरकार पत्रकारहरू सक्षम हुनुहोस् भन्ने पनि चाहन्छ तर हामीले गरेका राम्रा काम पनि लेख्न नहिचकिचाउन समेत उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले सरकारले अभावका बिचमा पनि महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया निःशुल्क, मिर्गौला पीडितलाई सहयोग गर्ने, कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाका लागि मासिक रूपमा गर्न थालेको सहयोग, गण्डकी प्रदेशलाई सडक मानवमुक्त बनाउन गरेको पहल र बजेटको प्रबन्ध आदि बारेमा मिडियामा खासै देख्न नपाएको गुनासो गर्नुभयो ।

काँग्रेसको केन्द्रीय सदस्य समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले अर्को एक प्रसङ्गमा सङ्घीयता बलियो बनाउनका लागि स्थानीय र प्रदेश सरकार जुन ढंगले बलियो हुनुपर्ने हो, त्यो नभएको र यो मुद्दामा अघिल्ला मुख्यमन्त्री गुरुङकै धारणामा आफू पनि सहमत रहेको बताउनुभयो ।  त्यस्तै, बिना विभागीय मन्त्री दोवाटे विकले प्रदेश सरकारले मिडियाको स्तर वृद्धिका लागि विनियोजन गरेको १० लाख बजेटको उपयोग गर्नका लागि लमजुङ शाखा सफल भएकोमा तारिफ गर्नुभयो ।

पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका क्षेत्रमा धेरै काम गर्न बाँकी छ तर पत्रकारको संस्थागत विकासका लागि प्रदेश सरकारले लिएको नीतिको सराहना गर्दै अन्य प्रदेशले समेत यसको अनुसरण गर्न आग्रह गर्नुभयो । वर्तमान सरकारको पालामा प्रेस स्वतन्त्रता खोसिने छैन अर्थात् प्रेस विरोधी विधेयक आउने छैन भन्नेमा आफू ढुक्क रहेको बताउँदै अघिल्लो सरकारले ल्याएको प्रेस विरोधी विधेयकप्रति आपत्ति व्यक्त गर्दै त्यो कुनै पनि अवस्थामा मान्य नहुने उल्लेख गर्नुभयो ।

पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघको गण्डकीका अध्यक्ष नारायण शर्मा, नेपाली काँग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ, एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, माओवादी केन्द्रका प्रतिनिधि अजय तामाङ, नेकपा(एस)का जिल्ला अध्यक्ष रामबाबु अधिकारी, राप्रपाका जिल्ला अध्यक्ष हरिप्रसाद रेग्मी, जग्गादाता संस्था सर्सेकका अध्यक्ष गमप्रसाद गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा महासंघलाई जग्गा दिने दाता संस्था स्वावलम्बी समाजसेवा केन्द्र (सर्सेक) र त्यस संस्थाका संस्थापकहरूलाई सम्मान गरिएको थियो ।  पत्रकार महसंघका उपाध्यक्ष अनुज अधिकारीले स्वागत गरेको कार्यक्रममा महिला उपाध्यक्ष शान्ता कमलीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव रुद्रहरि ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्