तीन दिन कैद भुक्तान गर्न कारागार चलान



लमजुङ ।

लमजुङमा बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । लमजुङको मध्य नेपाल नगरपालिका– २ बस्ने वर्ष ३६ का लक्ष्मण गिरीलाई जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष टोलीले पक्राउ गरी तीन दिनको कैद भुक्तानका लागि कारागार पठाएको हो ।

उनी विरुद्ध उच्च अदालत पाटनबाट गत चैत ६ गतेका दिनमा उक्त बैङ्किङ कसुर मुद्दामा ३ दिन कैद र  ८ लाख ८० हजार रुपैयाँ जरिवानाको फैसला भएको प्रहरीले जनाएको छ । सो फैसला पछि उनी काठमाडौंको चन्द्रागिरि नगरपालिका– ८ मा लुकीछिपी बसेको भन्ने खबर पाए पछि प्रहरीको विशेष टोली खटाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

उनका अनुसार गिरी काठमाडौंमा पुस ९ गते शुक्रवार पक्राउ परेका थिए । पक्राउमा परेका लक्ष्मण गिरीलाई आइतबार जिल्ला अदालतमा लमजुङमा पेस गर्दा उनले जरिवाना बापतको रकम दाखिला गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्