एउटै मञ्चमा तीन कर्मचारी संगठनको अधिवेशन



गुल्मी ।

गुल्मीमा तीनवटा कर्मचारी संगठनको एउटै मञ्चमा जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तम्घास नेपाल निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) र राष्ट्रिय स्वास्थ्यकर्मी संघको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

नेपाल निजामती कर्मचारी संगठन गुल्मीको अध्यक्षमा भीमलाल खनाल चयन भएका छन् । शनिवार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न नेपाल निजामति कर्मचारी संगठन गुल्मीको ११औं जिल्ला अधिवेशनले खनालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । त्यस्तै, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) को जिल्ला अध्यक्षमा रामप्रसाद श्रेष्ठ चयन भएका छन् । १०औं जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

त्यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी संघमा प्रेमलाल खनाल चयन भएका छन् । दोस्रो जिल्ला अधिवेशनले खनालको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । अधिवेशनमा नेपाल निजामती कर्मचारी संगठन कार्यालय गुल्मीका अध्यक्ष वोम अर्यालले संगठनले गरेका काम र चुनौती तथा भावी योजनाबारे जानकारी गराउँदै अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कर्मचारीको हकहितका बारेमा संगठनले निरन्तर काम गरिरहेको पनि उहाँको कथन छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल गुल्मीका अध्यक्ष पुण्यप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको आमूल परिर्वतन आजको आवश्यक रहेको भन्दै अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष दधिराम मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्