प्रचण्ड–नेपालले सपनामा पनि गठबन्धन देख्न थाले : विष्ट



गुल्मी ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताउनुभएको छ । आइतबार गुल्मी जिल्लाको मदाने गाउँपालिकामा रहेको जनज्योति क्याम्पस फुर्कोट दहको १३औं साधारण सभाको कार्यक्रममा विष्टले सो कुरा बताउनुभएको हो ।

‘गठबन्धन नरहे पार्टी पनि नरहने भएकाले सपनामा पनि गठबन्धनको देख्ने गरेका छन्’, नेता विष्ट भन्नुहुन्छ– ‘एक्लाएक्लै एमाले पार्टीसँग चुनाव लड्ने आँट अन्य पार्टीसँग छैन । आगामी निर्वाचनमा सबै राजनीतिक दल एमालेविरुद्ध गठबन्धन गरेर आए पनि सबैलाई निर्वाचनमा परास्त गर्छौं ।’

मन्त्रीमण्डल विस्तार गर्न १ सय दिन लगाउने सरकारले जनताको समस्या र चाहानाअनुसार काम गर्न नसक्ने विष्टको तर्क छ । आर्थिक वर्ष सकिएको करिब ५ महिनामा विकास खर्च ७ प्रतिशत खर्च गर्ने अक्षम, अयोग्य सरकारको आफूले धेरै चर्चा गर्न आवश्यक नरहेको उहाँको भनाइ छ ।

त्यस्तै, शिक्षाको क्षेत्रमा जनज्योति क्याम्पसले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउँदै विष्टले भन्नुभयो– ‘शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि सबै विद्यालयमा कम्प्युटर प्रदान गरिर्दै छौं ।’

प्रतिक्रिया दिनुहोस्