माझी समुदायका युवा वैकल्पिक पेसामा: पुर्ख्यौली पेसा सङ्कटमा


रामेछाप ।

माझी समुदायका युवाहरूले वैकल्पिक पेसा रोज्न थालेका छन् । तामाकोसी नदी किनारमा बस्दै आएका रामेछापका माझी समुदाय तामाकोसीमा माछा पाउन छाडे पछि वैकल्पिक पेसा रोज्न थालेका हुन् ।

माछा मारेरै आफ्नो जीविको पार्जन गर्दै आएका माझी समुदाय अन्य पेसा व्यवसायमा लाग्दा पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो । तामाकोसी नदीमा पहिला जस्तो माछा पाउन छाडेपछि र ठाउँ ठाउँमा मोटररेवल पुलहरू बनेपछि डुङ्गा तार्ने, माछा मार्ने र जाँड बेचेर जीविकोपार्जन गर्ने माझी समुदायको अहिले आफ्नो पुर्ख्यौली पेसा छोडेर नेपाल प्रहरी, नेपाली सेनामा जागिर खाने, वैदेशिक रोजगारीमा जाने र अन्य पेसा व्यवसायमा लाग्ने क्रम बढेको बताउनु हुन्छ मन्थली नगरपालिका १ का हरि माझी ।

गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेका कारण तामाकोसी नदीमा माछा पाउन छाडेपछि कोसी किनारमा बसोबास गर्ने माझी समुदायका पुरुषहरू वैदेशिक रोजगारीमा जाने र महिलाहरू किनारा पसल लगायत अन्य पेसा व्यवसायमा लाग्ने क्रम बढेको मन्थली नगरपालिका वडा नं १ की मञ्जु माझी बताउनुहुन्छ ।

तामाकोसी नदी किनारमा बस्ने माझी समुदायका अधिकांश मानिसहरू पुर्ख्यौली पेसा छाडेर कतिपय वैदेशिक रोजगारीमा गएका छन् भने केही इँटा भट्टा लगायत अन्य पेसा व्यवसायमा लागेका छन् । नेपालको अति सीमान्तकृत जातिमा पर्ने माझी समुदायको आफ्नो भाषा, संस्कार संस्कृति लोप हुँदै गइरहेको अवस्थामा रामेछापका माझी समुदायले आफ्ना भाषा, संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण गर्दै आएका थिए ।तर, आफ्नो पुर्ख्यौली पेसाबाट विस्थापित भएपछि माझी समुदायको अस्तित्व नै संकटमा पर्ने अवस्था आएको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार रामेछापमा माझी समुदायको जनसंख्या ६ हजार ४२ रहेको छ ।