भजन समूहका सदस्यलाई न्यानो कपडा



काभ्रे ।

पनौती नगरपालिका–७ का वडा सदस्य एवं समाजसेवी पुरुषोतम कर्माचार्यले पनौतीमा लाग्ने माधवनारायण जात्रामा सहभागी भजन समूहका सदस्य तथा पनौतीका विभिन्न टोलका भजन समूहलाई न्यानो ज्याकेट र टोपी वितरण गर्नुभएको छ । माधव नारायण भजन समूहमा आबद्ध ५० भन्दा धेरैले ज्याकेट र टोपी प्राप्त गरेका थिए ।

पनौतीको त्रिवेणी धाम र काँठु गणेशमा नित्य भजन हुने गरेको छ । त्योबाहेक कार्यविनायक, सूर्यविनायक, जलविनायकमा चतुर्मासा तथा माधवनारायण भजन हुने गरेको छ । यो वर्ष ऐतिहासिक १२ वर्ष मकर मेलासमेत भएकाले माधव नारायण जात्रा तथा भजनका लागि स्थानीय तहबाट गरिने व्यवस्थापनमा थप सहयोग पुगोस् भनेर भजन समूहमा सहभागी जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको समाजसेवी पुरुषोतम कर्माचार्यले बताउनुभयो ।

पनौतीको काँठु गणेशमा दशैंको घटस्थापनादेखि दशमीसम्म नियमित नवरात्रिको पूजा गरिँदै आएको छ । सांस्कृतिक शहरका रूपमा चिनिएको पनौती धार्मिक आस्थाको केन्द्र पनि हो । विश्व सम्पदा सूचीमा प्रस्ताव गरिएको पनौतीमा ब्रह्मायणी, राधाकृष्ण, भैरव, त्रिवेणी धामलगायतका संरक्षण र सम्वद्र्धन र प्रचारप्रसारका लागि कार्य गरिरहेको भजन समूहका पृथ्वीनारायण सोनामले बताउनुभयो । ‘नित्य भजन तथा चतुर्मासा भजन, माधवनारायण भजनका लागि पुस्तान्तरण हुँदै छ’, संयोजक पृथ्वीनारायण सोनामले भन्नुभयो– ‘केही बालबालिका अध्ययन गर्न जाने र केही बालबालिका काममा जाने भएकाले भजनकीर्तन र वाद्यवाधनका सामग्रीका बारेमा जानकारी गराउने अवसर हुन छाड्यो । यसले नयाँ पुस्तामा भजनप्रतिको मोह जगाउन सकिएको छैन ।’ भजनका लागि आवश्यक पर्ने वाद्यवाधन, शंखु फुक्ने कार्य तथा अन्य विविध कार्यमा बालबालिकाको नियमितता नहुँदा नयाँ पुस्ताले भजनलाई निरन्तरता दिने कुरामा शंका रहेको उहाँको भनाइ छ ।

पनौती नगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले पनौती–७ मा रहेका धार्मिक स्थलहरुको संरक्षणसँगै पुनर्निर्माण र मकर मेलाको व्यवस्थापनमा द्रुत गतिमा भएको कामलाई अझै प्रभावकारी बनाउनक्रियाशील रहेको बताउनुभयो । हरेक कार्य समयमा नै गर्न नसक्दा तयारी फितलो जस्तो देखिने अध्यक्ष नास्नानीले बताउनुभयो । त्यस्तै, न्यानो ज्याकेट तथा टोपी वितरण कार्यक्रममा पनौती नगरपालिकाद्वारा गठित पनौती जात्रा व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले पनौती नगरपालिकाले समग्र वडामा हुने जात्रा तथा पर्व व्यवस्थापनसँगै लोपोन्मुख बाजा तथा संस्कृतिको संरक्षण शुरु गरेको बताउनुभयो । लोपोन्मुख बाँसुरी बाजा, धिमे बाजा तथा अन्य संस्कृति र मन्दिरहरुको संरक्षणका लागि समितिले योजना तयार गरेरै कार्य गरिरहेको उहाँको कथन छ ।

कार्यक्रममा जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्य एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभएको थियो । व्यक्ति एक्लैले सबै थोक गर्न सम्भव नभएको बताउँदै तिमल्सिनाले सामाजिक कार्य स्वरूप कर्माचार्यले शुरु गर्नुभएको सामाजिक कार्यले युवा पुस्तामा जागरण ल्याउने बताउनुभयो । कार्यक्रममा अभियान्ता शिवप्रसाद हुमागार्इं, भजन समूहका सदस्यहरुले वडा सदस्य एवं समाजसेवी पुरुषोतम कर्माचार्यले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो । यसअघि कर्माचार्यले गर्भवती महिलाका लागि अण्डा वितरण गर्नुभएको थियो भने कोभिड लगायतका विपद्मा नागरिकलाई विभिन्न खालका सहयोग उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्