राष्ट्रिय फुल कन्ट्याक्ट कराते शुरू



काठमाडौं ।

नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि शुरू भएको छ ।

पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज श्रेष्ठ, आईकेकेएफका विवेककुमार मेहताले लुम्बिनी डोजोका आनन्द पुर्जा र आर्मीका विकास गुरुङले सो क्योकुसिनका विवेन्द्र राईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ७५ केजीमुनि आर्मीका मनोज थपलिया, आईकेकेएफका थमप्रकाश खड्का, सो क्योकुसिनका सतल लामा र लुम्बिनीका दिलीप यादवले सेमिफाइनल यात्रा तय गरे । पुरुष ६० केजीमुनि केडब्लुडब्लुका होमबहादुर राई, आईकेकेएफका नीरज थापा र युवराज मोक्तान, आर्मीका भूपेन्द्र ओली, सुनील कुँवर र छविलाल खड्का, सो क्योकुसिनका सुजन पाख्रिन र आईकेएका सन्जेश तामाङले क्वार्टरफाइनलमा स्थान बनाए ।

महिला खुलामा आर्मीकी मञ्जु विक, पत्रिका चन्द र शान्ति थापा मगर, केडब्लुडब्लुका रोजिना भुजेल र करिष्मा कार्की, आईकेकेएफका चन्द्रकुमारी भुजेल र पुनम लामा तथा सो क्योकुसिनकी शिवानी श्रेष्ठ क्वार्टरफाइनलमा प्रवेश गरे ।

प्रतियोगिताको राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबराले उद्घाटन गर्दै नेपाली मार्सल आर्टले अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान बनाउन सफल भएको धारणा व्यक्त गरे । आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीको पहिचान गरी संघकै खर्चमा बन्द प्रशिक्षणमा राखी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । आर्मी र सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडी सहभागी प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्