नेपाल एभीसी एसियन भलिबलको फाइनलमा



काठमाडौं ।

लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबलअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपाली महिला टोलीले एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा अपराजित रहेको नेपालले पहिलो सेटमा २५–२० को जित निकालेको थियो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा नेपालले २५–२३ को जित निकाल्दै जितर्फ अग्रसर बन्यो । तेस्रो सेटमा २५–१४ ले जित निकाल्दै नेपालले राउनड रोविनको एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भयो ।

नेपालले अब लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्दै छ । पहिलो हार बेहोरेको उज्वेकिस्तानको पनि फाइनल पुग्ने सम्भावना छ । उज्वेकिस्तानले सोमबार श्रीलंकासँग खेल्दै छ । यो खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक पुगेको छ । श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार बेहोरेको उज्वेकिस्तानको ९ अंक छ । किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्