काठमाडौं टिम च्याम्पियनको उपाधि टेलिकमलाई



काठमाडौं ।

राजधानीमा भएको कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ । काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलोपटक आयोजित च्याम्पियनसिप फाइनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलिकमलाई १–० को अग्रता दिलाए ।

दोश्रो खेलमा सिल्ककी अनुमाया राई टेलिकमकी सीमा राजवंशीमाथि हावी भइन् । राईले सीमालाई २१–१४, २१–१५ को जित निकाल्दै खेललाई १–१ को बराबरीमा ल्याइन् । तेश्रो कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा पुर्याए ।

चौथो महिला युगलको खेलमा टेलिकमकी सीमा राजवंशीको घुँडामा चोट बल्झेर रिटायर्ड हर्ट भई खेल छोडेपछि परिणाम २–२ को अवस्थामा पुग्यो । तर, अन्तिम तथा निर्णायक खेल पुरुष युगलमा सिल्कका रमेश शेर्पा र विकास श्रेष्ठको जोडी तथा टेलिकमका हरिकृष्णन शर्मा र रत्नजित तामाङबीच भएको खेलमा पहिलो गेम रत्न र हरिकृष्णनले २१–१७ ले जित्दै टिमलाई १–० को अग्रता दिलाए । दोश्रो गेम पनि २२–२० ले जित्दै २–० का साथ उपाधिमाथि आधिपत्य जमाए ।

कुमारी बैंकको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपका विजयी टिमले १५ केजीको ८ लाख बराबरको चाँदीको चार सटल रहेको रनिङ ट्रफीका साथ मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
नेपाल ब्याडमिन्टन संघ, काठमाडांै जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिमको विजयी टिम तथा खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्र राज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सचिव रामजी बहादुर श्रेष्ठ लगायतले ट्रफी, मेडल, प्रमाणपत्रका साथै गिफ्ट ह्याम्पर प्रदान गरे ।
करिब ४९ लाख ४६ हजार लागत रहेको च्याम्पियनसिपमा खेलाडीहरूले दर्ता हुनेबित्तिकै २० हजार प्राप्त गरे भने प्रत्येक खेलबापत थप २५ सय प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्