बिश्वकै दोस्रो लामो सुपरम्यान जीपलाईन सञ्चालनको तयारीमा 

अध्यक्ष तिमिल्सिनाद्वारा अवलोकन 


पर्वत  । 
साहसिक खेलको गन्तव्य बन्दै गएको पर्वतको कुस्मा बजारमा निर्माण भएको  विश्वकै दोस्रो लामो सुपरम्यान जिलाइन एक हप्ता भित्रै सञ्चालनमा आउने भएको छ ।
कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट काली गण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिलाइन अंग्रेजी नयाँ बर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको हो । सञ्चालनको तयारीमा रहेको जिप लाईनको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवलोकन गर्नुभयो ।
सबै परिक्षण सकेर एक हप्ता भित्रमा जीपलाईन सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी रहेको हार्नेस जिलाइन प्रा.लिका कार्यकारी प्रमुख सुनिल बानियाले जानकारी दिनुभयो । ‘प्राविधिक परीक्षणका काम भइरहेका छन्।’ उहाँले भन्नुभयो‘यसलाई सबै सकेर एक हप्ताभित्रमै सञ्चालन गर्ने तयारीमा जुटेका छौ’
जीपलाईनमा दुई जनाले संगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ । जीपलाईन भारतको श्याम जीपलाईनले निर्माण गरेको हो । निर्माण कम्पनीका इन्जिनियर नविन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ । काली गण्डकी नदीको सतहबाट २ सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ काली गण्डकी नदी किनारमा बन्ने रिपोर्टमा हुनेछ। सुपर म्यान शैलीमा पर्वतको जिलाइन विश्वकै दोस्रो लामो भएको पनि बानियाँले बताउनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिलाइन दुबईमा रहेको छ।
जिप लाइन संगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । रिर्सोट संगै कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य साहसिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको बानियाँले बताउनुभयो । जिप लाइन अवलोकन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले  साहसिक पर्यटकको गन्तव्य बनाउन थप खेलहरु थप्दै स्वदेशी र बिदेशी पर्यटकलाई आकर्षित गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले पर्यटकीय गन्तव्यमा आकर्षण बढाउन व्यवसायीले नै लगानी गर्ने कुरामा जोड दिँदै त्यहाँ सम्म पुग्ने सडक, खानेपानी, बिद्युत् लगायतका सुविधा समयमा पु-याउन राज्यले सहयोग गर्नुपर्छ भन्नुभयो ।  ‘पर्वतलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय व्यवसायी र युवाहरूको ठुलो योगदान छ।’ उहाँले भन्नुभयो ‘अरूले पनि यसबाट सिक्ने र राज्यले सहयोग बढाउन जरुरी छ।’