धुलिखेल मेयर कपको उपाधि पाँचखाल स्पोर्ट्सलाई



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल मेयर कप फुटबलको उपाधि पाँखाल स्पोर्ट्स एकेडेमीले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा काभ्रे बोर्डर युथ क्लबलाई २–० ले हराउँदै पाँचखालले उपाधि जितेको हो । धुलिखेल स्थित आकाश भैरव क्लबको आयोजनामा मंसिर २६ गते देखि शुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १९ टिम सहभागिता रहेको कार्यक्रम संयोजक जयोज नरसिं श्रेष्ठले जानकारी दिनुभयो ।

क्लबले २०७४ सालदेखि मेयर कप प्रतियोगिता गर्दै आएको छ । विजेता टिम पाँचखालका लागि २५ मिनेटमा उर्गेन शेर्पाले पहिलो र युवराज ढकालले पहिलो हाफको अतिरिक्त १ मिनेटमा गोल गरेका थिए । उर्गेन नै म्यान अफ द म्याच घोषित भए ।


विभागीय नेपाल आर्मीको बी टिमलाई हराएर पाँचखाल र काठमाडौं विश्वविद्यालयको टिमलाई सेमिफाइनलमा हराएर काभ्रे बोर्डर फाइनल प्रवेश गरेका थिए । विजयी टिमले नगद २ लाख र उपविजेताले १ लाख सहित ट्रफी र मेडल पाएका थिए ।

 

धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो ।  पाँचखाल स्पोर्ट्स एकेडेमीका अनिल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । पाँचखालकै अनिल खड्का उत्कृष्ट मिडफिल्ड, चन्दन दास सर्वाधिक गोलकर्ता, विष्णु केसी उत्कृष्ट गोलरक्षक र काभ्रे बोर्डरका सतिस सुवाल उत्कृष्ट डिफेन्स घोषित भए ।

धुलिखेल नगरपालिकाको सहकार्यमा आयोजना भएको प्रतियोगिताको मुख्य प्रायोजक सि जि ब्रुअरी प्रा।ली नेपाल रहेको थियो भने टाइटल प्रायोजक योङ्ग ट्यालेन्ट टिम रहेको थियो । सह प्रायोजक म्याक्स टाईगर इनर्जि ड्रिक, काभ्रे जिल्ला निर्माण व्यवसायी संघ, क्षेत्रीय होटल एसोसिएसन, मनोविनायक साकोस काठमाडौ, अर्थभूमी साकोस काठमाडौ, लेखापढी व्यवसायी संघ काभ्रे रहेका थिए ।

काभ्रे जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने उक्त प्रतियोगितामा विभिन्न संघ संस्थाहरुको सहयोग रहेको थियो । धुलिखेलका १२ वटै वडाले विद्यागत पुरस्कार सौजन्य रहेको थियो । फुटबल खेलको विकास, व्यवसायीक खेलाडीको उत्पादन र काभ्रे जिल्लाको खेलकुद गतिविधिलाई गतिशिल बनाउन प्रतियोगिता हरेक वर्ष आयोजना गरिएको अध्यक्ष सुबल चोच्छेले बताउनु भयो । क्लबले यस अघि फुटबल र रग्बी प्रतियोगितामा राष्ट्रिय स्तरसम्ममा सहभागिता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्