गाउँघरमा बढ्दै खेल गतिविधी



स्याङ्जा ।

पछिल्लो समय गाउँघरमा खेलकुद गतिविधी बढिरहेको छ । जसले गर्दा खेल क्षेत्रमा उत्साह थपिएको सरोकारवालाको भनाइ छ । जिल्लाका धेरै ठाँउमा खुला पुरुष भलिबल प्रतियोगिता भइरहेका छन् । जिल्लाका विभिन्न ठाँउमा स्थानीय क्लबहरुले खेल सञ्चालन गरिरहेका हुन् ।

कोरोनाको जोखिम कायमै रहँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर खेल भइरहेको बताइएको छ । कोरोनाले ठप्प भएका अन्य गतिविधी जस्तै बन्द अवस्थामा रहेको खेलकुद पनि शुरु हुनु खुसीको कुरा भएको खेलाडीले बताएका छन् ।

‘स्थानीय स्तरका खेलाडीको परिचालनका लागि खेलकुद क्षेत्र खुल्नै पर्थ्यो,’ एन्फा स्याङ्जाका अध्यक्ष मुक्तबहादुर रानाले भन्नुभयो ‘सरकारको नियम र मापदण्ड पालना गरेर यस्ता गतिविधी बढाउँदै लैजानुपर्छ ।’

वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले खेलकुद क्षेत्र सामुहिक एकताको सन्देश भएको बताउनुभएको छ । स्याङ्जाको वालिङ १३ मा पिस पोइन्ट युवा क्लबले आयोजना गरेको पुरुष भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै उपप्रमुख तिवारीले खेलकुदले युवाहरुको वृद्धिविकास र स्वास्थ्यका लागि लाभदायक हुने बताउनु भयो ।

उपप्रमुख तिवारीले युवावर्ग देश विकासको मेरुदण्ड भएको बताउँदै युवाहरुले गर्ने हरेक कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । युवाहरुमा देखिएको बढ्दो लागुऔषध सेवनलाई रोक्न पनि खेलकुद क्षेत्रको दायरा बढाउनु पर्ने बताउदै उपप्रमुख तिवारीले यस्ता खेलकुद टोलटोलमा आयोजना हुनुपर्ने जिकिर गर्नुभयो । यसका लागि स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारले पनि विशेष खालको कार्ययोजना तयार पार्नु पर्नेमा तिवारीले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्