![](https://newsofnepal.com/wp-content/uploads/2021/12/football-arena....jpg)
पोखरा ।
पटक–पटक म्याद थप गरिएको पोखरा रंगशालास्थित फुटबल मैदानको काम अझै सकिएको छैन् । मुख्य मैदान र प्यारापिटको काम सम्पन्न भइसके पनि आन्तरिक कामहरू भने अझै बाँकी रहेको छ । २०७५ सालमा निमार्ण शुरू गरिएको मैदान ६ महिनामा सकिने बनाइए पनि ३ वर्षसम्म पनि सकिएको छैन । अहिले प्यारापिटसमेत निमार्ण भइसकेको छैन ।
अफिसियल भवन, चेन्जिङ रुम, शौचालय तथा बाथरुम लगायतको कामहरू बाँकी रहेका छन् । अहिले फुटबल एरिना वरिपरि बाटो बनाउने काम चलिरहेको छ । तर, रकम निकासी नहुँदा काम गर्न ढिलाइ भएको प्रोजेक्ट म्यानेजर दीपक बराल बताउनुहुन्छ । उहाँले रकम निकासी नहुँदा समयमा काम सम्पन्न गर्न नसकिएको बताउनुभयो । उता गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले केन्द्र सरकारको बदमासीले काम सम्पन्न हुन नसकेको बताउनुभयो । मन्त्री गुरुङले केन्द्र सरकारमा रहेकाले विनियोजित रकम खाएका कारण काममा ढिलासुस्ती भएको आरोप लगाउनुभयो ।
‘केन्द्र सरकार भनेको यति साह्रो फटाहा देखिसकें मैले । के गरेको तिनीहरूले, बजेट रातो किताबमा लेखेर पठाउँछ बजेट झारिदिन्न’ उहाँले भन्नुभयो–‘ठेकेदारहरूलाई एक रुपैयाँ झारिदिन्न अनि कसरी गर्छ काम ? यही तालले गयो भने सायद अर्को चुनावमा मात्रै यो सम्पन्न हुन्छ ।’
गुरुङले उक्त काम जति सम्पन्न भयो त्यसमा अखिल नेपाल फुटबल संघको हात रहेको बताउनुभयो । ‘यो अहिले जति पनि गरिरहेको छ यो एन्फाले नै दु्ःख गरेको हो । एन्फाले आफ्नो पैसामा काम गरिरहेको छ’, उहाँले थप्नुभयो, ‘हामीले कुनै पनि काम गर्न सकिरहेका छैनौँ । सरकारलाई अधिवेशन गर्दागर्दै ठिक्क छ । अब अर्को वर्ष आइहाल्छ र चुनावमा जान्छ ।’ ठेकेदारलाई गाली गर्ने कुनै ठाउँ नरहेको उहाँले बताउनुभयो । एमालेको सरकार हुँदा विनियोजित रकम समेत अझै आइनपुगेको बताउँदै सम्पन्न हुन अझ ढिला हुने अवस्था देखिएको सुनाउनुभयो ।
अहिले प्यारापिट सहितको मैदानको करिब ९८ प्रतिशत काम सकिएको छ । तर, खेलाडी तथा रेफ्रीका लागि आवश्यक पर्ने चेन्जिङ रुम र शौचालय भने निमार्ण भइसकेको छैन । वर्षौ हुँदासमेत सम्पन्न नहुँदा खेलाडीले दुःख पाएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बताए । उनले कछुवा गतिमा फुटबल रंगशालाको काम भइरहँदा आफूहरूले नै छिटो काम गर्न लगाएको बताए ।
निमार्णाधीन फुटबल एरिनामा १३औँ सागअन्तर्गत महिला फुटबल सम्पन्न भएको थियो भने अहिले राष्ट्रिय ‘ए’ डिभिजन लिगअन्तर्गतका केही खेल भएका छन् ।२०७५ साल फागुन २६ गते फुटबल मैदान तथा दुईवटा प्यारापिट भत्काई नयाँ संरचना निर्माणको शिलान्यास गरिएको थियो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गर्नुभएको थियो ।
भारतीय ग्रेट स्पोर्टस् इन्फ्रा तथा एम.ए कन्ट्रक्सन ललितपुर(संयुक्त)ले मैदानसहित प्यारापिट निर्माणको जिम्मेवारी पाएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले कम्पनीसँग १ अर्ब २८ करोड लागतमा निर्माण गर्ने गरी सम्झौतामा गरेको हो । १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट तयारी भइसकेको छ । ३ हजार ५ सय सिट थप्दै २० हजार पुर्याउने योजना छ ।