सवारीसाधनको भाडादर घट्यो



मुगु, (नेस) ।

जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको जिप भाडादर घटेको छ । गमगढीदेखि ताल्चसम्मको भाडा बढी भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनाकमा बसेको सर्वदलीय बैठकले जिप र बस भाडादर निर्धारण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गमगढीदेखि ताल्चसम्मको जिपको भाडादर ३ सय रुपियाँ निर्धारण गरिएको बताउनुभयो । यसअघि गमगढी बजारदेखि ताल्चसम्मको भाडादर ५ सय रुपियाँ थियो । उहाँका अनुसार ताल्चदेखि सल्लेरीसम्मको भाडा पनि निर्धारण गरिएको छ । ताल्चदेखि सल्लेरीसम्मको भाडादर २ सय निर्धारण गरिएको छ ।

त्यस्तै, गमगढीदेखि तुमसम्म ५०, गमगढीदेखि ताल्चसम्म १ सय, गमगढीदेखि पिनासम्म २ सय, गमगढीदेखि बुलबुलेसम्म ३ सय ५०, गमगढीदेखि गोठिज्युलासम्म ६ सय रुपियाँ बसभाडा निर्धारण गरिएको छ । यसका साथै गमगढीमा रहेका जिप तथा बस व्यवसायीहरुले अनिवार्यरूपमा यात्रुको टिकट काट्नुपर्ने, सवारीसाधन र काउन्टरहरुमा भाडादर यात्रुले देखिने गरी राख्नुपर्ने पनि उक्त बैठकले निर्णय गरेको छ ।

मंगलबारबाट उक्त निर्णय कार्यान्वयनमा आएको रारा छायानाथ यातायात प्रालि मुगुका प्रतिनिधि नेताप्रसाद चौलागाईंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्