लिच्छविकालीन शिलालेख भेटियो



ललितपुर, (नेस) ।

विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र परिसरमा ढल खन्ने क्रममा लिच्छविकालीन अभिलेख भेटिएको छ । भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो । उहाँका अनुसार अभिलेख पुरातत्वविद् प्रकाश दर्नालको टोलीले सो शिलालेख भेट्टाएको हो । जुन अभिलेख गोकर्ण बालुवा गाउँमा अभिलेख राखिएकै वर्षमा राखिएको हो ।

राजवंशीका अनुसार गत २०७८ साल भदौ २९ गते ढल खन्ने क्रममै पूर्वमध्यकालको शिलालेख भेटिएको थियो । सिमेन्ट लागेर सहजै पढ्न नसकिएको अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा उल्लेख छ । कुल १५ पंक्ति रहेको अभिलेखको दायाँ–बायाँ श्रावक मृग र बीचमा धर्मचक्र कुँदिएको छ । अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ ।

अभिलेखमा महासामन्त अंशुवर्माको नाम उल्लेख रहेको राजवंशीले बताउनुभयो । यसमा योग्रङ्गाम र अन्तिम पंक्तिमा संवत् ५३६ जेष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांक प्रस्टसँग लेखिएको छ । यो अभिलेखले राजा वृषदेवले त्यहाँ विहार बनाएको भन्ने स्पष्ट लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्