चार्ल्स शोभराजलाई थुनामा राख्नुको कारण देखाऊ आदेश जारी



काठमाडौं, (नेस) ।

सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुका कारण तीन दिनभित्र कारण पेस गर्न सरकारलाई आदेश दिएको हो ।

सन् २००३ देखि केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका ७७ वर्षका शोभराजले आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग राखेका छन् । विकिनी किलरका नामले परिचित शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथ देवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

यसअघि शोभराजले अधिवक्ता शकुन्तला थापामार्फत ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसूरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । सो व्यवस्था कैद सजाय भोगिरहेका नेपाली मात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको दाबी रहेको छ ।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेको थियो । अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा हत्या गरेको दुई दिनमै उनले क्यानेडेली नागरिक लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या गरेका थिए ।

काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । जिल्ला अदालतल गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्