मतदान गरेको १० दिनमा बल्ल सकियो मतगणना

आज पदभार ग्रहण, भोलि केन्द्रीय समिति बैठक



काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिले मतदान गरेको १० दिनपछि मतगणना सकिएको छ । हिजो बिहीबार अबेर सम्पूर्ण मतगणना सकेर नतिजा सार्वजनिक गरेको निर्वाचन समितिले नवनिर्वाचित सबैलाई आज शुक्रबार प्रमाणपत्र दिने कार्यक्रम राखेको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि मंसिर २७ गते मतदान भएको थियो ।

केन्द्रीय कार्यालय सानेपाका सचिव प्रदीप पराजुलीले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार आज नवनिर्वाचित सबैलाई प्रमाणपत्र दिन नेताहरूको वरिष्ठता सूची तयार पारिनेछ र पदभार ग्रहणको कार्यक्रम पनि आजै गरिनेछ । उहाँले १४औं महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक भोलि शनिबार बस्ने गरी तयारी भइरहेको पनि बताउनुभयो । नवनिर्वाचित उपसभापति धनराज गुरुङले भने आज शुक्रबार प्रमाणपत्र वितरण गर्ने भन्ने कुरा मिडियाबाट मात्रै सुनेको, पदभार ग्रहण र केन्द्रीय समितिको बैठकबारे आधिकारिक जानकारी नआएको बताउनुभयो ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्य महाधिवेशनले निर्वाचित गर्नुपर्ने व्यवस्थाबमोजिम १० दिनअघि मतदान भएको थियो । सभापतिका लागि भने पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशतभन्दा बढी मत नआएकाले दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो । कांग्रेस निर्वाचन समितिले निर्वाचन सम्पन्न भएदेखि हिजो साँझ अबेरसम्म लगातार मतगणना गरिरहेको थियो । कांग्रेस अधिवेशनमा मतदाताको संख्या ४ हजार ७ सय ४३ थियो ।

संघीय संरचनाअनुसार पहिलोपटक महाधिवेशन गरेको कांग्रेस केन्द्रीय समितिमा सहमहामन्त्रीमा महिला, आदिवासी/जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एक–एक जना निर्वाचित भएका छन् भने केन्द्रीय सदस्य खुलामा ३५ जना निर्वाचित भएका छन् । त्यस्तै, महिला खुलामा ९ जना निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित हुने सदस्यमा प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाको दरले आएका २१ जना पनि छन् ।

कांग्रेस केन्द्रीय सदस्यमा समानुपातिक र समावेशीको सिद्धान्तअनुसार ५६ जना निर्वाचित भएका छन् । जसअन्तर्गत दलित कोटामा चार महिलासहित ९ जना, आदिवासी/जनजाति कोटामा सात महिलासहित १५ जना, खस/आर्य कोटामा ६ महिलासहित १३ जना, मधेसी कोटामा चार महिलासहित ९ जना, थारू कोटामा दुई महिलासहित चार जना, मुस्लिम कोटामा एक महिलासहित तीन जना, पीछडिएको क्षेत्रअन्तर्गत एक जना र अल्पसंख्यक/अपांग कोटाबाट दुई जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

सभापतिले मनोनित गर्ने ३३ जनामा एक तिहाइ महिला कार्यसमितिमा पुग्ने गरी समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने भनिएको छ । सभापति शेरबहादुर देउवाले आज शुक्रबार नै केहीलाई मनोनित गर्ने तयारी गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्