विवेकशीलले राष्ट्रिय एकता यात्रा गर्ने



काठमाडौं, (नेस) ।

विवेकशील साझा पार्टीले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ शुरु गर्ने भएको छ । सो यात्रा कञ्चनपुरबाट २७ पुसमा शुरु गरिनेछ र शहीद दिवसको दिन १६ माघमा झापामा आएर अन्त्य हुनेछ ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । यात्राको विस्तृत विवरणपछि प्रकाशित गरिने साझाले जनाएको छ ।

नागरिकहरूका आ–आफ्ना वैचारिक दृष्टिकोण भए पनि ‘विचारभन्दा माथि देश’ नै हो भन्ने भावना प्रवद्र्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेन्डा आमसर्वसाधारणसम्म पुर्याउनु, पार्टीको आमनागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुने साझा विवेकशील पार्टीका प्रवक्ता शरद्राज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्