यातायात व्यवस्थापन सुधारकार्य अघि बढाइने



हेटौंडा ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारले सवारीचालक अनुमतिपत्र जारी गर्ने प्रणालीलाई कसरी सहज र व्यवस्थित बनाउन सकिन्छ भन्ने अवधारणा तत्काल प्रस्तुत गर्न यातायात कार्यालयलाई निर्देशन दिनुभएको छ ।

उहाँले उक्त कार्यका लागि प्रदेश सरकारले के–के कुरामा नीतिगत र संरचनागत सुधार गर्नु आवश्यक छ भन्ने जिज्ञाशा राख्दै उक्त कार्यका लागि प्राथमिकता दिएर योजना कार्यान्वयनमा लगिने भएकाले विषयविज्ञहरुलाई बुँदागतरुपमा योजनाहरु पेस गर्न पनि निर्देशन दिनुभएको थियो ।

प्रदेश सरकारमातहत यातायात क्षेत्रसँग सम्बन्धित कार्यालयमा जिम्मेवारी लिएका कर्मचारीलाई समयको बदलावसँगै जनअपेक्षाबमोजिम यातायात क्षेत्रमा देखापरेका कमजोरी सुधार र जनअपेक्षा अनुरुप सेवा प्रवाहमा सुधारका लागि प्रदेश सरकारले लिने नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । अन्यथा, जनतालाई सेवाप्रवाहमा सुधारका लागि चाल्ने कदममा असहयोग गर्ने कर्मचारीलाई ‘राइट मेन, राइट प्लेस’ को भावनाअनुसार व्यवस्थापन गरी यातायात क्षेत्रमा देखिएका समस्या प्राथमिकतासाथ समाधान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वागमती प्रदेश सरकारले सधैंभरि जनताको गुनासो जोडिरहने क्षेत्र यातायात क्षेत्रका विविध विषयमा छलफल गरी सहज एवं प्रभावकारी ढंगबाट सेवाप्रवाहका लागि प्रणालीगत सुधारका लागि विषय विज्ञको सहभागितामा छलफल गरेको हो ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले यातायात व्यवस्थामा अन्तरसरकारी समन्वय विषयमा कार्यपत्र प्रस्तुत गर्दै सवारीचालक अनुमतिपत्र, विद्युतीय सवारी दर्ता प्रणालीबारे चर्चा गर्नुभएको थियो । उहाँले एम्बोस्ड नम्बर प्लेट जडान, सवारीपरीक्षण, सार्वजनिक सवारीमा कार्डबाट भाडा भुक्तानी प्रणाली व्यवस्थापनलगायत यातायात क्षेत्रसँग जोडिएका विषयमा संघीय र प्रदेश सरकारले हालको सवारीचालक अनुमतिपत्र प्राप्त गर्न लिइने परीक्षा तथा परीक्षापश्चात् जारी हुने लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न सकिने उपाय सुझाउनुभएको थियो । सार्वजनिक सवारीमा कार्डबाट भाडा भुक्तानी प्रणालीलाई तुरुन्त लागू गर्ने योजनासमेत उहाँले प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मा, नेपाल सरकारका पूर्वसचिव शरद्चन्द्र पौडेल, यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक वीरेन्द्र मिश्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय शासकीय सुधार तथा समन्वय महाशाखा प्रदेश सचिव स्किम श्रेष्ठ, प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साह, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनीराम शर्मा, सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुंगेल र यातायात व्यवस्था विभागका आईटी विशेषज्ञको शनिबारको कार्यक्रममा सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्