२३ गते राजधानीमा जनलहर उतार्छौं : पूर्वमन्त्री श्रेष्ठ



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद, स्थायी समिति सदस्य एवं वागमती प्रदेश सहइन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गते काठमाडौंमा हुने छैटौं जिल्ला अधिवेशनमा जनलहर उतार्ने घोषणा गर्नुभएको छ । काठमाडौं क्षेत्र–९, प्रदेश ‘ख’ कमिटिको हिजो बुधबार सम्पन्न पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिँदै उहाँले जिल्ला अधिवेशनमा पार्टीको १०औं महाधिवेशनको झल्को दिने गरी कार्यकर्ता उतार्न निर्देशन दिनुभएको छ ।

प्रदेश सहइन्चार्ज श्रेष्ठले आउँदो निर्वाचनपछि एमालेलाई एक नम्बरको पार्टी बनाउन सबै लागिपर्नुपर्नेमा पनि जोड दिनुभयो । बैठकमा नेता श्रेष्ठले पार्टी महाधिवेशनमा भएको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । काठमाडौं जिल्लामा रहेका २० वटा कमिटीमध्ये पहिलो बैठक राख्ने कमिटि प्रदेश–२ ‘ख’ भएको उहाँको भनाइ थियो ।

बैठकमा केन्द्रीय सदस्य सांसद बिना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर एवं पार्टी केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले समसामयिक राजनीतिका बारेमा बोल्नुभएको थियो । बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, डा. अजयक्रान्ति शाक्य, बिना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश ‘ख’ संयोजक एवं काठमाडौं जिल्ला सचिवालय सदस्य दीपक पनेरूको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र ९ को संयोजक अवन्ती सिक्देलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्